विपद् व्यवस्थापन पूर्वतयारीबारे सदनलाई जानकारी गराउन माग

.

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विपद् व्यवस्थापन पूर्वतयारीबारे सदनमा आएर जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले विपद् व्यवस्थापन पूर्वतयारीबारे गृहमन्त्रीको जवाफ माग गर्नुभएको हो । उहाँले केहि दिनदेखि देशका विभिन्न राजमार्गहरु अवरुद्ध रहेको बताउनु भयो । यसले यस वर्ष पनि वर्षाका कारण ठूलो क्षति हुने अनुमान गर्न सकिने भन्दै समयमै पूर्वतयारीमा जुट्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘केही दिन अघिदेखि देशका विभिन्न राजमार्गहरु अवरुद्ध भइरहेका छन् । चितवनदेखि मुग्लिङ र मुग्लिङ देखि नागढुंगा सम्मको सडकहरुमा धेरै ठाउँमा अवरुद्ध । एकतर्फी सञ्चालन भइरहेको अवस्था छ । वर्षायाम शुरु हुनुभन्दा अगावै यसले के देखाउँछ भने यस पटकको वर्षामा पनि धेरै जनधनको क्षति हुने सम्भावना देखिन्छ । त्यसकारण विपद् व्यवस्थापनको विषयमा पूर्वतयारी के छ ? यो विषयमा गृहमन्त्रीले सदनमा आएर जानकारी गराउन म सभामुख महोदयमार्फत माग गर्दछु ।’
उहाँले चितवनदेखि मुग्लिङ र मुग्लिङ देखि नागढुंगा सम्मको सडकहरुमा धेरै ठाउँमा अवरुद्ध रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । —न्युज एजेन्सी नेपाल