काठमाडौं -नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सांसदहरुले एमसीसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन् ।
नेपाल–अमेरिका संसदीय मैंत्री समूहसँग शनिवार काठमाडौंको एक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरुको तर्फबाट प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।
नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नविकरण ऊर्जा नेपालको विकासका लागि अति महत्वपूर्ण स्रोत भएको कुरा आफूहरुले राखेको र त्यसमा पनि सहयोग गर्ने कुरा अमेरिकी सांसदहरुको टोलीले राख्नुभएको समूहका संयोजक डा. मिनेन्द्र रिजालले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा अमेरिकी सांसदहरुले संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पु-याएको योगदानको मुक्तकण्ठले प्रशंशा गर्नुभएको थियो भने नेपालको विपद् व्यवस्थापनमा आवश्यक सहयोगलाई निरन्तरता दिने बताउनु भएको थियो ।
समूहका संयोजक डा. रिजालले भन्नु भयो, ‘नेपालको समृद्धिका लागि, नेपालको जनजीविकाको लागि र नेपालको समावेशी विकासका लागि सहयोग पु¥याउने क्रममा दुवै पार्टीका सांसदको सहयोग रहनेछ, जुनसुकै सरकार भएपनि । त्यो सहयोग निरन्तर रुपमा रहनेछ भन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपालको भौतिक पूर्वाधार निर्माणका लागि, नेपालको पर्यटन क्षेत्रको विकासका लागि र स्वच्छ र नविकरण ऊर्जाका लागि नेपाल अत्यन्तै महत्वपूर्ण स्रोत भएको देश हुन सक्दछ, दक्षिण एशीयाका लागि भन्ने कुरा हामीले राख्यौं । त्यसमा उहाँहरुले सन्तोष व्यक्त गर्नुभयो । अनि नेपालमा विपद् व्यवस्थापनका लागि अमेरिकाको सेना र रक्षा मन्त्रालयले पु-याएको सहयोगको बारेमा कुरा गरियो र उहाँहरुले नेपाली सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंशा गर्नु भयो ।’
दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरुले नेपाल भ्रमण गर्नुभएको हो । टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटगरी द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो ।