ललितपुर महानगरका सबै संरचना अपाङ्गमैत्री छन्ः चिरिबाबु महर्जन

.

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरमा पछिल्लो समय निर्माण गरिएका सबै संरचनाहरु अपाङ्गमैत्री रहको बताउनुभएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले महानगरले बनाएका सबै संरचनाहरु अपाङ्गमैत्री रहको दाबी गर्नुभएको हो । उहाँले वडा कार्यलय भवन, विद्यालय भवन, स्वास्थ्य चौकी, पार्क लगायतका जे जति संरचना निर्माण भएका छन्, ती सबै नै अपाङ्गमैत्री रहेको बताउनु भयो । उहाँले भौतिक संरचनासँगै महानगरले बनाउने निती नियमहरुपनि अपाङ्गमैत्री बनाएको जानकारी दिनुभयो । उहाँले गतवर्ष अपाङ्ग दिवसको अवसरमा ५६२ जना अपाङ्गता भएका व्यक्तिहरुले पाटन दरबार क्षेत्रको ह्वीलचियरमा बसेर अवलोकन गरेको स्मरण समेत गर्नुभयो । उहाँले ललितपुर महानगरले नेपालमा नै पहिलो पटक अपाङ्गमैत्री गाडी सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभयो । तर त्यो गाडी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनकारीहरुले जलाईदिएको उहाँले गुनासो गर्नुभयो । उक्त गाडीमा भएको मेकानिकल लिफ्टिङले ह्वीलचियरमा बसेर अपाङ्गता भएका व्यक्तिहरु सहजै यात्रा गर्न सक्ने थिए ।
हाँले भन्नुभयो, ‘हामीले जे जति संरचना बनाएका छौँ, ती संरचनाहरु सबै नै अपाङ्गमैत्री रहेको छन् । हामीले लगभग २३/२४ वटा वडा कार्यलय भवनहरु बनाएका छौँ । ती सबै नै अपाङ्गमैत्री छ । हामीले धेरै वटा स्कुलहरु बनायौँ, ती सबै नै अपाङ्गमैत्री छ । ललितपूर महानगरपालिकाबाट यो मुलुकमा पहिलो पटक अपाङ्गतामैत्री ह्वीलचियर ६ जना ह्वीलचियरमा बसेर त्यो गाडीमा मेकानिकल लिफ्टिङ हुन्छ, त्यो मेकानिकल लिफ्टिङले ह्वीलचियर गाडीमा राखेर लामो यात्रा गरेर त्यहाँको कार्यक्रमहरुम भाग लिएर फेरि फर्किनको लागी हामीले जुन अपाङ्गतामैत्री ह्वीचियर व्यवस्थापन गरिहेका थियौँ । तर दुखको कुरा अस्ती भाद्र २४ गते जेनजी आन्दोलन, मैले जेनजीले गरेको त भन्न चाहन्न, उहाँहरु धेरै राम्रा भईबहिनीहरु हुनुहुन्छ । तर त्यसका घुसेका तत्वले हाम्रो अपाङ्गतामैत्री गाडीलाई चाँही ४ नम्बर वडा कार्यलयको बाहिर राखेर जलाईदियो । त्यो हाम्रो लागी ज्यादै नै दुखद कुरा हो ।’ 

उहाँले महानगरले जलाइएको भन्दा अझ स्तरीय अपाङ्गतामैत्री गाडी किन्नको लागी टेण्डर प्रक्रिया शुरु गरिएको पनि जानकारी दिनुभयो । त्योसँगै दुई वटा दमकल पनि किन्न लागिएको उहाँले बताउनु भयो ।– न्युज एजेन्सी नेपाल