सामाजिक उत्तरदायित्वमा अग्रसर: खोटाङ–कुवेत सम्पर्क मञ्चद्वारा सिम्ले माध्यमिक विद्यालयलाई ६२ हजार रूपैयाँ सहयोग

.

खोटाङ – खोटाङ–कुवेत सम्पर्क मञ्चले स्थानीय सिम्ले माध्यमिक विद्यालयलाई ६२ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। मञ्च स्थापना भएको २०६७ सालदेखि निरन्तर सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ र यसपटक पनि विद्यालयका भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारमा हातेमालो गरेको हो।

सिम्ले माध्यमिक विद्यालय, जो २०१९ सालमा प्रावि रूपमा स्थापना भएको थियो र २०५१ मा निम्नमाध्यमिक तथा २०६५ मा माध्यमिक विद्यालयमा रूपान्तरण भएको थियो, खोटाङको उत्तरी भेगमा पर्ने भएकाले भौगोलिक दुर्गमता र सीमित स्रोतका कारण आवश्यक पूर्वाधार जुटाउन कठिनाइ हुँदै आएको थियो।

संस्थाका महासचिव प्रकाश थुलुङ राईको प्रस्ताव तथा अध्यक्ष *विष्णुप्रसाद भट्टराई (Aviral Bishnu)*को प्रत्यक्ष अवलोकनपछि मञ्चको कार्यसमितिले विद्यालयलाई सहयोग गर्ने निर्णय गरेको थियो। अध्यक्ष भट्टराईले संस्थातर्फबाट ५१ हजार र व्यक्तिगत रूपमा ११ हजार गरी जम्मा ६२ हजार रूपैयाँ विद्यालयलाई हस्तान्तरण गरेका छन्।

रकम हस्तान्तरण कार्यक्रममा प्रधानाध्यापक निरकुमार कट्टेल, व्यवस्थापन समिति अध्यक्ष शुरबिर राई, वडा अध्यक्ष भक्तबहादुर तामाङ, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक र स्थानीयवासीको उपस्थिती रहेको थियो।

विद्यालयले रकम दराज (फाइल तथा अभिलेख व्यवस्थापन) निर्माण, पुस्तकालयका काठका सामग्री निर्माण र शैक्षिक सुधारका काममा खर्च गर्ने योजना बनाएको छ। कार्यक्रमको समापनमा अध्यक्ष भट्टराईलाई पुष्पमाला, खादा र अविर लगाएर सम्मान गरिएको थियो।

खोटाङ–कुवेत सम्पर्क मञ्च विगतदेखि नै प्राकृतिक विपत्ति, रोगपीडित, बेसहारा र विपन्न व्यक्तिहरूलाई सहयोग गर्दै आएको छ। मञ्चले आगामी दिनमा पनि क्षमता अनुसार समाजसेवा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।