नेपाली महिला टोलीको विश्वकप खेल्ने सपना अधुरै

.

खराब ब्याटिङसँगै तेस्रो हार बेहोरेपछि नेपाल जारी आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुग्न असफल भएको छ ।
कीर्तिपुरमा भएको समूह ‘बी’ को आफ्नो चौथो तथा अन्तिम खेलमा खराब ब्याटिङपछि नेपाल सोमबार स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो । जित्नैपर्ने खेलमा पराजित भएपछि नेपाल छनोटको सुपर सिक्समा पुग्न असफल भयो । साथै सन् २०२६ को जुनमा इङ्ल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी ट्वान्टी विश्वकप खेल्ने नेपालको सपना अधुरै रह्यो । नेपालको हारसँगै समूह ‘बी’ बाट सुपर सिक्समा पुग्ने थप दुई टोलीको टुङ्गो लागेको छ । नेदरल्यान्ड्स एक खेलअघि सुपर सिक्समा पुगिसकेको थियो । नेपालको हारसँगै पाँच टोली रहेको समूहबाट स्कटल्यान्ड र थाइल्यान्ड सुपर सिक्समा पुगे । आज नै नेदरल्यान्ड्स र थाइल्यान्ड प्रतिष्पर्धा गर्दैछन् ।
अर्को समूह ‘ए’ बाट टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र अमेरिका सुपर सिक्समा पुग्न सफल भए । सुपर सिक्सबाट ६ मध्ये चार राष्ट्रले आगामी विश्वकप खेल्नेछन् । घरेलु मैदानमा भएको ग्लोबल छनोटमा नेपालले एक मात्र जित आइसिसीको पूर्ण सदस्य र टेस्ट राष्ट्र जिम्बाब्वेलाई हराएको थियो । यो जितपछि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना जीवत बनेको हो । तर, समूहको अन्तिम खेलमा स्कटल्यान्डलाई फराकिलो अन्तरले हराउँदै नेट रेट सुधार गर्न आवश्यक थियो । तथापि, खराब ब्याटिङ सामना गरेपछि नेपालको लक्ष्य पूरा भएन । युवा स्पिनर मनीषा कुमारी उपाध्याय र रुबिना क्षेत्रीको जोडीले सात विकेट लिँदै स्कटल्यान्डको इनिङमा दबाब बनाए ।
तर, प्रियानाज चटेर्जीको आक्रामक ४५ रनको इनिङमा स्कटल्यान्डले चुनौतीपूर्ण लक्ष्य दियो । त्रिवि क्रिकेट स्टेडियममा स्कटल्यान्डले एक सय ४० रनको मध्यम लक्ष्य दियो । तर, खराब ब्याटिङ गरेपछि नेपाल १३.५ ओभरमा मात्र ६८ रनमा नै सीमित भयो । नेपालले पावरप्लेमा नै शीर्ष तीन ब्याटर विन्दु रावल, सम्झना खड्का र पूजा महतोलाई गुमायो । त्यसपछि नेपाली टोली समालिन नै सकेन । विन्दु १४ रनमा आउट भइन् । सम्झना ७ रन र पूजा २ रनमा पभेलियन फर्किइन् । कप्तान इन्दु बर्मा पनि ५ रनमा रिटायर्ड हर्ट हुँदा कविता जोशी ६ र सीता रानामगर २ रनमा आउट भए । यससँगै नेपाली टोली फराकिलो हारतर्पm अग्रसर भयो ।
रुबिना क्षेत्री १० रनमा पभेलियन फर्किंदा रोमा थापा १४ रनमा अविजित रहिन् । कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न नसक्दा नेपालले सहजै नतिजा सुम्पिन पुग्यो । स्कटल्यान्डको बलिङमा अब्ताहा मकसुदले सर्वाधिक तीन तथा क्याथरिन फ्रेजर र कप्तान क्याथरिन ब्राइसले समान दुई विकेट लिए । राहेल स्लेटर र ओलिभिया बेलको नाममा समान एक विकेट रह्यो । त्यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्ड निर्धारित ओभरमा एक सय ४० रनमा अलआउट भयो । सातौं नम्बरमा आएकी प्रियानाजले महत्वपूर्ण इनिङ खेलिन् । ११.४ ओभरमा नै स्कटल्यान्ड ७९÷६ को नाजुक अवस्थामा थियो ।
तर, त्यसपछि समालिएर खेल्दै राम्रो इनिङ बनायो । एल्सा लिस्टरले २२, सारा ब्राइसले १८, मेगन म्याककोलले १७ र राहेल स्लेटरले ११ रन जोडे ।  नेपालको बलिङमा युवा बलर मनीषाले सर्वाधिक चार विकेट लिए । रुबिनाले तीन तथा रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक विकेट लिए । रिया चार ओभरमा ४१ रन खर्चदै निकैं महँगो सावित भइन् । यो हारसँगै नेपाल चार खेलबाट दुई अंक जोड्दै समूह ‘बी’ को चौथो स्थानमा रह्यो । –न्युज एजेन्सी नेपाल