प्रेस काउन्सिललाई पत्रकार महासंघले भन्योः महिलाद्वारा सञ्चालित मिडिया वर्गीकरणलाई प्राथमिकता दिइयोस्

.

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले महिला पत्रकारहरुले संचालन गरेका मिडियाहरुलाई वर्गीकरणमा प्राथमिकता दिन प्रेस काउन्सिल नेपालसँग आग्रह गर्नुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित पत्रकार महिलाका लागि सुरक्षित इकोसिष्टम र समावेशी नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो आग्रह गर्नुभएको हो । अध्यक्ष शर्माले नीति निर्माणको तहमा लंैगिकमैत्री दृष्टिकोण राख्नेहरु भए मात्रै महिला पत्रकारमैत्री वातावरण बन्नसक्ने अवस्था रहेको समेत बताउनु भयो । उहाँले महिला पत्रकारहरु सुरक्षित इकोसिष्टका लागि उनीहरुको घरबाटै अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता समेत औँल्याउनु भयो । महिला पत्रकारहरुलाई काम गर्ने वातावरण बनाउने काममा उनीहरुको घरले विशेष भुमिका खेल्नुपर्ने अध्यक्ष शर्माको भनाई थियो । नेपालको पत्रकारितामा डिजिटल प्लेटफर्मको विकास भएको उल्लेख गर्दै उहाँले सञ्चारकर्मीहरुलाई सोहीअनुसार तालिमको व्यवस्था गर्ने काममा पनि विशेष जोड दिनुपर्ने बताउनु भयो ।
अध्यक्ष शर्माले भन्नुभयो, ‘स्वरोजगारमूलक मिडिया चलाउने महिलाहरुका लागि मैले यो पत्रपत्रिका वर्गीकरणमा महिलाले चलाउने मिडियामा केही इन्सेन्टिभ दिन सकियो भने गरौ है भनेर सुझाव दिइरहेको हुन्छ । तर सधैभरी हामी ती कमिटीमा त हुँदैनौ । तर जेन्डरमैत्री ढंगले हेर्नेहरु पोलिसी मेकिङमा भयो भने त्यो काम हुँदो रहेछ । महिलाहरु र पुरुषहरुको् पनि निर्मला शर्मालाई पत्रकार महासंघमा ल्याउन योगदान रह्यो । घरबाटै महिला पत्रकारहरुलाई इन्करेज गर्नु प¥यो ।’
त्यस अवसरमा अध्यक्ष शर्माले नेपालमा पुरुष भन्दा पनि महिला पत्रकारहरु क्षमतावान भएको दाबी समेत गर्नुभयो । —न्युज एजेन्सी नेपाल