मौन अवधिमा चुनावी प्रचार गर्न नदिन स्थानीय प्रशासनलाई आयोगकाे निर्देशन

.

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिमा मतदातालाई प्रभाव पार्नेगरी चुनावी प्रचार गर्न नपाइने भएकाले त्यस्ता गतिविधि हुन नदिन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

 

आयोगले मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका गतिविधि गर्न नपाइने हुँदा सो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिहरूलाई निगरानीमा राखी त्यस्तो गतिविधि हुन नदिन निर्देशन दिएको हो ।

 

 

बुधबार आयोगले गरेको पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदातालाई सुरक्षित रुपमा मतदान केन्द्रसम्म पुग्न र केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

 

 

प्रवक्ता पौडेलले मंगलबार राति १२ बजेपछि सुरु हुने मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा तल्लो भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत तथा कुनै पनि सभा-सम्मेलन गर्न नपाइने बताए ।

 

 

राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री कतै राखिएको भए त्यसलाई तत्काल हटाउनुपर्ने र सामाजिक सञ्जाल, अनलाइन, छापा वा कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष/विपक्षमा कुनै पनि सन्देश‚ सूचना वा प्रचारका सामग्री सेयर गर्न नहुने भएकाले यससम्बन्धी यसलाई पालना गर्न पनि आयोगलेआग्रह गरेको छ ।