वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ निर्माण कार्य तिब्र गतिमा अघि बढिरहेको छ ।
ललितपुरको पुल्चोकमा रथ निर्माणको काम भइरहेको हो । सदियौँदेखि चलिआएको यो परम्परालाई निरन्तरता दिँदै स्थानीय समुदाय रथ निर्माणमा सक्रिय रूपमा सहभागी भएका छन् । यस वर्षको रथ यात्राको तयारीसँगै पुल्चोक क्षेत्रमा धार्मिक र सांस्कृतिक उत्साह छाएको छ । रातो मत्स्येन्द्रनाथलाई बौद्ध धर्मावलम्वीहरूले पद्मपाणि बोधिसत्वको रूपमा र हिन्दु धर्मावलम्वीहरूले करुणामयको रूपमा पूजा गर्छन् । मत्स्येन्द्रनाथको रथ यात्रा ललितपुरको सबैभन्दा ठूलो र महत्वपूर्ण जात्रामध्ये एक हो । यस जात्राले वर्षा र राम्रो फसलको लागि प्रार्थना गर्नुका साथै समुदायमा एकता र सद्भाव बढाउँछ । किंवदन्ती अनुसार, मत्स्येन्द्रनाथको आगमनले काठमाडौं उपत्यकामा लामो समयदेखि चलेको खडेरी अन्त्य भएको थियो, त्यसैले उहाँलाई वर्षा र सहकालको प्रतीक मानिन्छ । –न्युज एजेन्सी नेपाल