संसदीय समितिको नेतृत्व चयनमा विधि मिचिएको भन्दै सांसदहरुको आपत्ति

.

प्रतिपक्ष दलहरुले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहवर अन्सारी निर्वाचित गरिएकोमा आपत्ति जनाएका छन् ।
शुक्रवार भएको समिति सभापतिको निर्वाचनमा नेपाली काँग्रेसका सांसद प्रकाशसिंह कार्की, एमाले सांसद क्षितिज थेवे, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद निराशा चौधरी (डगौरा)लगायतका प्रतिपक्ष दलका सांसदहरुले निर्वाचन प्रक्रिया शुरु भईसकेपछि नामावलीमा समावेश गरेर गैरकानूनी ढंगले सभापतिको उम्मेदवार बनाइएको भन्दै  अन्सारीलाई सभापतिको उम्मेदवार बनाएकोमा आपत्ति जनाएका हुन् । एमालेका सांसद थेवेले निर्वाचन प्रक्रिया शुरु भइसकेपछि अन्सारीको नाम समितिमा ल्याएर विधि र विधान विपरित उम्मेदवार बनाउने काम गरिएको भन्दै मान्य नहुने चेतावनी समेत दिनुभयो ।
उहाँले भन्नुभयो,‘सम्माननीय सभामुखज्युले ४ गते सभापतिको निर्वाचनको मिति तोकेपछि हिजो ४ बजेसम्म त्यसको उम्मेदवारी दर्ता थियो । तर निर्वाचन प्रक्रिया शुरु भइसकेपछाडि नामावली हेरफेर गर्ने यो कस्तो विधिसम्मत प्रक्रिया हो यो ? निर्वाचन प्रक्रिया शुरु भइसकेपछि कुन विधिले नामावली हेरफेर गर्ने कुन विधिले दिन्छ ? यसरी कसरी अघि बढ्न खोजिएको हो ? व्यक्तिको कुरामा, सभापति बनाउने कुरामा हाम्रा दावा छैन । र हाम्रो त्यसमा व्यक्तिको बारेमा प्रश्न उठाएनौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले रहवर अन्सारीलाई निर्णय गरेर पठाउनु भयो । व्यक्तिमा हामीलाई कुनै समस्या छैन । तर हिजो निर्वाचन प्रक्रिया भईन्जेलसम्म रहवर अन्सारी नाम नै समितिमा थिएन । तर उम्मेदवारी दिएपछि नामावली चेन्जफेन्ज गरियो । यो कुन विधि, प्रक्रियामा ल्याइयो ? बलजफ्ती अगाडि बढ्ने कि विधिसम्मत अगाडि बढने ? यसलाई थप विधि प्रक्रिया गराएर, आजबाट विधि प्रक्रिया अघि बढाएर भोली पनि सभापति चुन्न सकिन्छ । भोली पनि हामी उहाँलाई नैसभापति बनाउन सक्छौँ । किनभने हामीले व्यक्तिमा कुनै कुरा उठाएका छैनौँ । तर विधि, प्रक्रिया र नियमको कुरा हो नि त । निर्वाचन प्रक्रिया सुरु हुनुभन्दा अगाडि नै नामावली हेरफेर गरेर अगाडि बढाएको थियो । वा हाउसमा हामीले अनुमोदन गरिसकेको नामावलीलाई सूचना टाँस गरेर यो विधि प्रक्रिया अघि बढाइएको थियो वा यो समितिको बैठकले नामावली पास गरेको भए हामीले यो विधि र प्रक्रियालाई मान्य थियौं । यो कस्तो विधि र प्रक्रिया हो ? जसलाई मानेर अघि बढ्ने ? भन्ने प्रश्न गर्न चाहन्छु ।’
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद निराशा चौधरी (डगौरा)ले पनि निर्वाचन प्रक्रिया शुरु हुन अघि समितिको मतदाता नामावलीमा समावेश नभएका अन्सारीलाई सभापतिको उम्मेदवार मान्न नसकिने अडान राख्नुभयो । उहाँले समितिको सदस्यनै नभएको व्यक्ति सभापतिको उम्मेदवार बनाउने कुरा विधिसम्मन नभएको तर्क समेत गर्नुभयो ।
सांसद चौधरीले भन्नुभयो, ‘हामीले जसरी गरिराखेका छौ, त्यो यो मतदाता नामावली विपरित यसमा हाम्रो उम्मेदवारी रहेको छ । यसमा हाम्रो सहमती छैन । नियम विपरित भएको कारणले मान्य छैन । विधिको कुरा गर्छौ, तर यो उम्मेदवारी विधि विपरित छ ।’
प्रतिपक्ष दलहरुले सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) को तर्फबाट सभापतिको उम्मेदवार बन्नुभएका अन्सारी सो समितिको निर्वाचन प्रक्रिया शुरु हुनअघि सदस्य नरहेकाले उहाँको उम्मेदवारी विधिसम्मत नभएको तर्क  गरेका हुन् । संसदीय अभ्यासमा समितिको नाम हेरफेर गर्न प्रतिनिधि सभाको बैठकको अनुमति लिने परम्परा छ । प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य हुने दिन सांसदहरुको समिति तोक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारी शिक्षा तथा स्वास्थ्य समितिमा पर्नु भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक व्यवस्थापन मिलाउँदा अर्कै समितिमा सदस्य भएका अन्सारीलाई उद्योग समितिमा सभापति बनाउन ल्याएको थियो । तत्काल सभाको बैठक नबसेको तर जसरि पनि नाम हेरफेर गर्नुपर्ने भएकोले सभामुख डोलप्रसाद अर्यालले नियमावली को विशेषाधिकार प्रयोग गर्नुभएको थियो । यसरि नाम हेरफेर गर्दा विधि मिचिएको भन्दै विपक्षी सांसदहरुले प्रश्न उठाए पनि बैठकको समिति सभापतिमा सांसद रहबर अन्सारीलाई चुनेको छ । –न्युज एजेन्सी नेपाल