साविक विजेता निरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जित्न सफल भएका छन् । उनको यो करियरको पाँचौं उपाधि हो । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा नेपाल नम्बर एक गल्फर निरजले १० औं सिडेड टंकबहादुर कार्कीलाई ३÷२ ले हराउँदै उपाधि जितेका हुन् । जारी सिजनको दोस्रो उपाधि जितेका निरजले नगद १ लाख प्राप्त गरे । रोयल नेपाल गल्फ क्लवमा भएको ३६ होलको फाइनलमा कुनैपनि समय टंकले निरजलाई उछिन्न सकेनन् । नवौं होलको समाप्तीमा निरजले २ होलको अग्रता बनाएका थिए । १८ औं होल सकिंदा भने ५ होलको स्पष्ट अग्रता बनाए । यसपछि २० औं होल टंकले जित्दै अग्रता ४ होलमा झारे। तर २२ औं होलमा इगल प्रहार गर्दै निरजले पुनः ५ होलको अग्रता बनाए ।
५–० ले पछि परेका टंकले २३औं, २४ औं र २५ औं होल जित्दै अग्रता २ होलमा घटाए । यसपछि ३३ औं होल निरजले जिते भने ३४ औं होल बराबरीमा सकिंदा २ होल अगाडि निरजले ३÷२ को जितका साथ उपाधि रक्षा गरे ।
टंक प्रोफेसनल करियरको पहिलो उपाधि जित्न चुके । टंकले ७५ हजार हात पारे । छेटौं वरियताका रवि खड्का तेस्रो भए । उनले चौथो वरियताका सञ्जय लामालाई ३÷१ ले हराए । तेस्रो भएका रविले ५६ हजार र चौथो भएका सञ्जयले ४२ हजार प्राप्त गरे ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ब्राण्ड म्यानेजर विदुरराज अधिकारी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लवका कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरे ।
तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीहरूले प्रतिष्पर्धा गरेका थिए । कुल पुरस्कार राशी ४ लाख २५ हजार रहेको थियो ।
क्वार्टरफाइनल पुग्ने चार खेलाडीहरू रामे मगर, जयराम श्रेष्ठ, दिनेश प्रजापती र भुवन नगरकोटीले १८ हजार प्राप्त गरे । पहिलो चरणबाट बाहिरिएका सूर्यप्रसाद शर्मा, भूवनकुमार रोक्का, रमेश अधिकारी, दीपक मगर, बलभद्र राई, धनबहादुर थापा र कृष्णमान राजबाहकले जनही १० हजार हात पारे । –न्युज एजेन्सी नेपाल