प्रतिनिधि सभा नियमावलीको मस्यौदा निर्माण अन्तिम चरणमा, महा अभियोगको विषय टुंग्याउन बाँकी

.

प्रतिनिधि सभा नियमावलीको मस्यौदा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले महाभियोग लगायतका केही काम बाँकी रहेपनि अन्य सबै विषय टुंगोमा पुगेको जनाएको छ । समितिका सभापति गणेश पराजुलीले मस्दौदा निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँकाअनुसार समितिलाई दिएको १४ दिने समयसीमा मंगलवार सकिँदैछ । उहाँले अधिकांश विषयमा सहमति जुटिसकेकोले सोमबारको बैठकमा सबै विषय टुंगोमा पु¥याएर मस्यौदालाई अन्तिम रुप दिने बताउनु भयो । उहाँकाअनुसार महाभियोग लगायत केही संवेदनशील विषय अझै बाँकी छन् । ती विषयमा राजनीतिक दलहरूसँग थप परामर्श गरी दलगत धारणा समेट्ने प्रयास भइरहेको उहाँले बताउनु भयो । सोमबार बिहान ११ बजे बस्ने बैठकले बाँकी विषयहरू अन्तिम रूप दिने उहाँले जानकारी दिनुभयो । महाभियोग सम्बन्धी व्यवस्थामा केही फरक धारणा र विचारहरू देखिएकाले बहुआयामिक ढंगले छलफल गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिलाई दिएको १४ दिनको समयसिमा मंगलवार सकिँदैछ । आजसम्ममा हामीले सबै बुँदा, नियमावलीमा छलफल गरेर धेरै विषय टुङ्ग्याई सकेका र्छौँ । केही विषयहरु बाँकी छन् । महाभियोग लगायत टुंगोमा पुग्न बाँकी रहेका कुराहरुलाई राजनितिक दलसँग पनि छलफल गरेर सांसदहरुलाई दलको धाराणा पनि लिएर आउनुस् भनिएको छ । भोली(सोमबार) ११ बजे हुने बैठकले जतिबेला यी विषयहरुलाई फाईनल गर्छ, त्यहिबेला सबै अन्तिम टुंगो लाग्नेछ । सबैकुरा अन्तिममा पुगेको छ, केही विषयहरुमा फरक धाराण, फरक विचार हुँदै गर्दा अथवा दलले फरक धाराणा पठाएको छ, त्यसको पनि बहुआयामिक पाटोबाट छलफल गर्नुपर्ने हुन्छ ।’
उहाँले नियमावलीमा संसदीय इतिहासको गरिमा र अभ्यासलाई ध्यानमा राख्दै २०१६ साल यताका अनुभवलाई समेट्ने र बदलिँदो व्यवस्थाअनुसार नयाँ प्रावधान समावेश गर्ने दिशामा काम भइरहेको उल्लेख गर्नुभयो । नियमावलीले आगामी पाँच वर्ष प्रतिनिधिसभा सञ्चालन, कानून निर्माण प्रक्रिया प्रभावकारी बनाउने, सांसदहरूको भुमिका सुदृढ गर्ने तथा कार्यपालिकालाई जवाफदेही बनाउने विषयलाई प्राथमिकता दिनेछ । साथै व्यवस्थापिकाको गरिमा कायम राख्ने मूल उद्देश्यका साथ मस्यौदा तयार पारिएको उहाँको भनाइ छ । समितिले लोकतान्त्रिक अभ्यासलाई उच्च प्राथमिकता दिँदै सत्तापक्ष मात्र नभई प्रतिपक्षको आवाजलाई समेत समेट्ने गरी नियमावली तयार पारिएको उहाँले दाबी गर्नुभयो । उहाँले सञ्चारकर्मीलाई संसदीय समितिमा प्रवेशको सुनिश्चिता पनि निमावलीमा नै गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले लोकतान्त्रिक पक्रियाको उच्चतम अभ्यास गरेर संसदको गरिमा मात्र नभई समग्र नेपाली जनताको भावनालाई आत्मसाथ गर्नेगरि काम गर्ने वातावरण बनाउनेगरि नियमावली बनाएका छौँ । दुई तिहाई प्राप्त सरकार पक्षको मात्रै नभई कमजोर रहेको प्रतिपक्षको आवाजलाई सम्बोधन गर्नेगरि पनि नियमावली बन्दैछ ।’
समितिले आईतवार सभामुख तथा पूर्वमहासचिवहरूलाई समेत आमन्त्रण गरी सुझाव लिएको छ । समितिले सभामुख डोल प्रसाद अर्याललाई समितिले गरेको काम कारबाहीको बारेमा जानकारी गराएको थियो । समितिले नियमावली निर्माणका क्रममा सरोकारवालासँग औपचारिक तथा अनौपचारिक छलफल गरेको सभापति पराजुलीले जानकारी दिनुभयो । उहाँले नियमावलीको मस्यौदा प्रचलित कानून, अदातलका फैसला, यसअघि प्रतिनिधिसभाले निर्माण गरेको कानुनभन्दा बाहिर नजानेगरि तयार पारिएको उल्लेख गर्नुभयो । – न्युज एजेन्सी नेपाल