समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य

.

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ ।
मंगलवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । त्यसैगरी सदस्यहरुमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई मनोनयन गर्ने निर्णय पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो । त्यसैगरी बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भूवनकुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन पनि गरेको छ ।
सञ्चारमन्त्री तिमिल्सिनाले भन्नुभयो,‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, श्री भूवनकुमार दाहाल काठमाडौं सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने । नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन र्ग बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्विकृति दिने । मतदाता ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने । समस्यग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष पदमा श्री डिल्लीराज आचार्य प्युठान र सदस्य पदमा श्री नवराज सिम्खडा धादिङ एवं श्री रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने निर्णय गरिएको छ ।’
सरकारले तीन वटा विधेयकलाई संघीय संसदमा पेश गर्ने अनुमति पनि दिएको छ । नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक र मतदाता ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो । –न्युज एजेन्सी नेपाल