‘भूकम्पका भग्नावशेषः असनका एक दशक’ (फोटो फिचर)

.

२०७२ साल वैशाख १२ गते । त्यो कालो दिन, जसले हजारौँको ज्यान लियो र लाखौँलाई घरबारविहीन बनायो । विनाशकारी भूकम्पको त्यो त्रासदीले धेरैको सपना भत्कायो । तर १० वर्ष बितिसक्दा पनि केही ठाउँहरूमा समय अझै त्यही दिनमा रोकिएको जस्तो लाग्छ । काठमाडौंको असन, मरु क्षेत्र यस्तै एउटा उदाहरण हो । असन र मरुका यी भग्नावशेषहरू मानिसहरूको असीम पीडा र राज्यको उदासीनताका मौन साक्षी हुन् । आफ्नो बास बस्ने घर भत्किएपछिको त्यो डरलाग्दो रात पछि, आजसम्म ती भग्नावशेषले मात्रै स्थानीय बासिन्दाहरूको अधुरो आशाको कथा बोकेका छन् । धेरैले ऋण काढेर जसोतसो तङ्ग्रिने प्रयास गरे, तर केही भने अहिले पनि भग्नावशेषको बीचमा जीवन बिताउन बाध्य छन् । एक दशक भनेको धेरै समय हो । तर असनका यी कङ्काल बनेका भवनहरूले भने अझै नयाँ स्वरूप लिन सकेका छैनन् । कतिपय भवनहरु निजी निवास हुन् । दाजुभाईबीचको अंशबण्डाका कारण पनि विवादले बन्न सकेका छैनन् । विकासका गफहरू धेरै भए, पुनःसंरचनाका आश्वासनहरू पटक–पटक बाँडिए, तर वास्तविकता भने यी फोटोहरूमा देखिने जस्तै पीडादायी छ । के राज्यको ध्यान यता कहिल्यै पुग्ला ? के यी भग्नावशेषहरूले फेरि नयाँ जीवन पाउलान् ? प्रश्नहरू अनुत्तरित नै छन् । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल