थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)

.

आजको बिहानी थापाथलीको सुकुम्बासी बस्तीका बासिन्दाका लागि एउटा अभिशप्त बिहानी बनेर आयो । सयौंको संख्यामा तैनाथ सुरक्षाकर्मीहरूका बीच जब डोजरले बस्तीमा प्रवेश ग¥यो, तब त्यहाँ बसोवास गर्नेहरूको सानो संसार क्षणभरमै तहसनहस भयो । बाँस र जस्तापाताबाट बनाइएका घरहरू मात्र भत्किएनन्, ती घरहरूभित्र जोडिएका मान्छेका वर्षौंदेखिका सपनाहरू सडकमा छरपस्टिएका छन् । बालबालिकाको कापी–कितावदेखि वृद्धवृद्धाको ओत लाग्ने थलोसम्म डोजरको पांग्राले किचेको छ । तस्बिरमा देखिएको एक वृद्धाको कारुणिक अनुहारले धेरै कुरा बोल्छ । घर भत्किरहेको दृश्य नियालिरहँदा उनको आँखामा देखिएको शुन्यताले यो राज्य कतिसम्म कठोर हुनसक्छ भन्ने प्रश्न खडा गरेको छ । एउटा सामान्य ओतको लागि वर्षौंदेखि संघर्ष गरिरहेका यी मानिसहरू आज फेरि सडकमा आइपुगेका छन् । डोजरले घर त भत्कायो, तर ती मानिसहरूको मनमा पैदा भएको घाउ कहिले निको होला ? यो प्रश्न आज थापाथलीको धुलोमा उडिरहेका कागजातहरू जस्तै सडकमा छताछुल्ल भएको छ । आज थापाथलीको बस्तीमा केवल डोजरको आवाज सुनिएको छ, तर भत्किएका घरहरूभित्रबाट आउने रुवाइलाई सरकारले कसरी सुन्छ त्यो भने हेर्न बाँकी छ । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल