बौद्धिक सम्पती संरक्षण कमजोर हुँदा ब्राण्ड जोगाउन कठिनः उपाध्यक्ष ढकाल

.

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपालमा बौद्धिक सम्पती संरक्षण प्रणाली कमजोर र ढिलो रहँदा स्वदेशी उद्योगी–व्यवसायीहरू मारमा परिरहेको बताउनुभएको छ ।
विश्व बौद्धिक सम्पती दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले खुला सीमाना र बजारका कारण नक्कली उत्पादन बढाएको बताउँदै बैद्धिक सम्पत्ति संरक्षण राम्रोसँग हुन जरुरी रहेको बताउनु भयो । ढकालले आफ्नो हेरिटेज ग्रुपका उत्पादनहरू समेत अरू व्यवसायीले कपी गरेर बजारमा ल्याउने गरेको उल्लेख गर्दै यस्तो विषयमा गुनासो गर्दा तुरुन्त सुनुवाइ नहुने र प्रक्रिया अत्यन्तै लामो हुने समस्या रहेको बताउनु भयो । उहाँकाअनुसार हालको संरचनाले आईपीसम्बन्धी विवाद समाधानमा १०–१५ वर्षसम्म समय लाग्न सक्ने अवस्था छ ।
अदालतमार्फत समाधान खोज्दा समेत लामो समय लाग्ने भएकाले नीतिगत सुधार आवश्यक रहेको उहाँले बताउनु भयो । संस्कृति मन्त्रालय र उद्योग मन्त्रालयले संयुक्त रूपमा बसेर छिटो र प्रभावकारी समाधान निकाल्ने ‘सर्टकट वे’ खोज्नुपर्ने उहाँले बताउनु भयो ।
ढकालले भन्नुभयो–‘म हेरिटेज ग्रुपमा पनि छु, मेरै पनि प्रोडक्टका त्यस्तै खालका कपी गरेर अरु साथीहरूले, व्यवसायी साथीहरूले बनाएको अवस्था छ । यसको गुनासो गर्दाखेरि तुरुन्तै सुनुवाइ नहुने, प्रक्रिया लामो, अब अघि उद्योग विभागका महानिर्देशकले भनिसक्नुभो । अलिकति यसलाई यो आईपीको विभाग नै बनाएर जानुपर्छ जस्तो लाग्छ र यसमा अलि विज्ञहरुले आईटी मैत्री बनाएर छिटो छरितो डिसिजन गर्ने प्रक्रियामा गएन भने यो १०–१५ वर्ष अल्झिनेछ ।’
ढकालले खाद्य क्षेत्रदेखि संगीत, सिर्जनात्मक क्षेत्र, खेलाडी तथा स्पोट्र्स गुड्ससम्म आईपीको महत्व बढ्दै गएको बताउनु भयो । उद्योगी–व्यवसायी नै आईपीबाट दीर्घकालीन लाभ लिने पक्ष भएकाले एफएनसीसीआईले पनि यस विषयलाई प्राथमिकतामा राखेर छुट्टै समिति गठन गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनु भयो । नयाँ–नयाँ प्रविधि र कानून विकास भइरहेका बेला पछि पर्न नहुने बताउँदै उहाँले निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको प्रष्ट पार्नुभयो । न्युज एजेन्सी नेपाल