मनोहराको पीडाः डोजरको हुंकारसँगै सुकुम्बासीको आश्रित सपना धरापमा (फोटो फिचर)

.

मनोहरा सुकुम्बासी बस्तीमा आज चलिरहेको डोजरको हुंकारले सयौं परिवारको आशा र सपना सडकमा ल्याएको छ । बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति र डोजरको गर्जनले बस्ती पुरानो जस्तै शान्त रहन पाएन । धेरै वर्षदेखि यिनै झुपडीमा बसेका मानिसहरू आज आफ्नो थातथलो भत्किँदा निशब्द छन् । बस्तीको दृश्यले एउटा भयावह कथा भनिरहेको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म, सबै आफ्नो घर भत्किएको टुलुटुलु हेर्न बाध्य छन् । कोही आफ्नो जीवनभरको कमाइ अर्थात एउटा ढोका वा झ्याल बोकेर सुरक्षित ठाउँ खोज्दैछन्, त कोही भत्किएको घरको अवशेषमा आफ्नो केही सरसामान भेटिन्छ कि भनी खोजी गरिरहेका छन् । सुरक्षाकर्मीहरूको मूकदर्शक अवस्था र पेलपाल गरी भत्काइएका यी संरचनाहरूले केबल ईंट र सिमेन्टको मात्र क्षति गरेको छैन, बरु यी मानिसहरूको बाँच्ने आधारसमेत खोसेको छ । केही मानिसहरू आफ्नो घरको छतबाट सामान निकाल्ने प्रयास गरिरहेका छन्, भने कोही अझै केही हुन्छ कि भन्ने आशमा उभिएका छन् । राज्यले गर्ने भनिएको वैकल्पिक व्यवस्थापनको अस्पष्टताले गर्दा उनीहरूको भोलि कस्तो होला भन्ने प्रश्न अझै अनुत्तरित छ । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल