प्रधानमन्त्रीकै निर्देशनमा सुकुम्बासीमाथि ज्यादती भयोः सांसदहरू

.

राष्ट्रिय सभाका सांसदहरूले सरकारले बिनातयारी सुकुम्बासी बस्ती खाली गराएको भन्दै आपत्ति जनाएका छन् ।
सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो आपत्ति जनाएका हुन् । बिना तयारी र पूर्वसूचना समेत नदिई सुकुम्बासी बस्ती हटाउँदा बालबालिका र परिवारहरूमा मानसिकदेखि दैनिक आधारभूत समस्या परेको उनीहरूको भनाइ छ । बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकार अमानवीय तरिकाले अघि बढेको आरोप लगाउनु भयो । उहाँले साना बालबालिका रातभर रोइरहेको, परिवारहरू विस्थापित भएको तथा हृदयविदारक दृश्यहरू सार्वजनिक भएको उल्लेख गर्दै यसको जति आलोचना गरेपनि कम हुने बताउनु भयो । रिजालले प्रधानमन्त्रीकै निर्देशनमा कुनै वैकल्पिक व्यवस्था नगरी, कम्तीमा एक हप्ताको समयसमेत नदिई बस्ती खाली गराइएको भन्दै सुरक्षाकर्मी परिचालनमार्फत सुकुम्बासीमाथि ज्यादती गरिएको आरोप पनि लगाउनु भयो । उहाँले समितिले यस विषयमा गम्भीर चासो लिएर प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुपर्ने माग गर्नुभयो ।
हाँले भन्नुभयो, ‘उनीहरु रातभरि निदाउन सकेको अवस्था देखिँदैन साना साना बालबालिकाहरु रोइरहेका छन् । जुन खालको ह्रदयविदारक भिडियोहरु हामीले हेर्नुपरेको छ । यसको जति आलोचना गरेपनि कम हुन्छ । सरकारले बिना कुनै तयारी सुकुम्बासी बस्ती खालि ग¥यो । कम्तिमा एक हप्ताको पनि समय नराखिकन हठा्ट ढंगले खालि गर्नु भनेर प्रधानमन्त्रीले नै जुन खालको निर्देशन दिनुभयो । र आतंकित पार्ने गरी सुरक्षाकर्मी परिचालन गरेर सुकुम्बासीको नाममा जुन खालको ज्यादति भएको छ यो समितिले यस विषयमा बुझोस् । हामीले त्यो ठाउँहरुको स्थलगत अनुगमनको लागि जानुप¥यो भनेर म समिति सभापतिज्यूको ध्यानाकर्षण पनि गराउन चाहन्छु ।’
लोकतान्त्रिक समाजवादी पाटी, नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारका पछिल्ला कार्य र केही निर्णयहरूले मुलुकमा नकारात्मक प्रभाव मात्रै बढाएको टिप्पणी गर्नुभयो । सरकारप्रति देशभर असन्तुष्टि बढ्दै गएको बताउनु भयो । ठाकुरले प्रधानमन्त्रीले मधेसको समस्या काठमाडौं नआई स्थानीय तहबाटै समाधान हुने अभिव्यक्ति दिएको स्मरण गराउँदै वास्तविकता त्यस्तो नभएको जिकिर गर्नुभयो । साथै, क्षेत्र विकासका लागि सांसदहरूलाई दिइने बजेट हटाइएकोप्रति असन्तुष्टि जनाउँदै उक्त निर्णय सच्याउन सरकारसँग माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जेन–जीका नाममा सर्वोच्च अदालदेखि सिंहदरबारसम्मका राष्ट्रका धरोहरहरुलाई नष्ट गर्ने काम गरियो । त्यसपछि मुलुकमा जेजस्ता घटनाहरु भइरहेका छन् ती नकारात्मक घटनाहरु मात्रै छन् । अहिले मधेसमै पनि गडबड भइरहेको छ भने आवाज उठ्न थालेको छ । प्रधानमन्त्रीले मधेशको समस्या हल गर्न काठमाडौं आउनै पर्दैन त्यही समाधान हुन्छ भन्नुभयो तर त्यस्तो छैन । क्षेत्र विकासको लागि सांसदहरुलाई दिइने बजेट पनि हटाइयो । यसलाई सच्यिाइयोस् ।’
बैठकमा बोल्ने अधिकांश सांसदहरुले सुकुम्बासी बस्ती खालि गराएकोप्रति सरकारको आलोचना गर्नुभयो ।–न्युज एजेन्सी नेपाल