बुद्ध दर्शन विश्वमा शान्ति स्थापना गर्ने सबैभन्दा शक्तिशाली हतियार होः पर्यटनमन्त्री पौडेल

.

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बुद्ध दर्शन विश्वमा शान्ति स्थापना गर्ने सबैभन्दा शक्तिशाली हतियार भएको बताउनुभएको छ ।
बिहीवार ललितपुरमा आयोजित बौद्ध सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री पौडेलले बुद्धको दर्शन व्यक्तिगत साधनाबाट सुरु भएर विश्व कल्याणमा पुग्ने पवित्र मार्ग समेत बताउनु भयो । त्यस अवसरमा उहाँले सबैलाईं सकारात्मक सोच, सहअस्तित्व र सामूहिक मंगलको भावना आत्मासात गर्दै अघि बढने संकल्प गर्न पनि आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो,‘बुद्धले सिकाउनु भएको करुणा निरपेक्ष प्रेम हो । यस्तो प्रेम, जुन हाम्रो जात, धर्म, भाषा, विचार वा सीमा भन्दा माथि उठेको हुन्छ । आजको विश्वमा शान्ति स्थापना गर्न शक्तिशाली हतियार होइन, करणामय चेतनाको आवश्यक्ता छ । व्यक्तिको चित्त शान्ति भयोभने परिवार शान्त हुन्छ । परिवार शान्ति भयो भने समाज शान्त हुन्छ । समाज शान्त भयो भने देश र विश्व शान्त हुन्छ । त्यसैले बुद्धको मार्ग व्यक्तिगत साधनाबाट शुरु भएर विश्व कल्याणमा पुग्ने पवित्र मार्ग हो । यस पावन अवसरमा हामी सबैले सकारात्मक सोच, सहअस्तित्व र सामूहिक मंगलको भावना आत्मासात गर्ने संकल्प गरौ । हामी जो सोच्दछौ, त्यही बन्दछौ भन्ने सत्यलाई स्मरण गर्दै शुभ चिन्तन, शुभकर्म र शुभ आचरणतर्फ अग्रसर होऔ । बुद्ध जयन्ति समारोहले समाजमा शान्ति, भदभाव, करुणा र नैतिक चेतनाको ज्योति अझ प्रज्वलित गरिरहोस मंगलमय शुभकामना व्यक्त गर्दछु ।’
मन्त्री पौडेलले सत्यमा अडिएर बुद्धले प्रतिपादन गर्नुभएको शान्ति, सदभाव, करुणा र नैतिक चेतनाको ज्योतिलाई अझै प्रज्वलित गर्नुपर्ने पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल