नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रका छाता संगठनहरूबीच व्यावसायिक एकता र सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनको सन्दर्भमा बोल्दै उहाँले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएको र यसको समापनसँगै सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको हो । पूर्वअध्यक्ष मल्लले निर्वाचनमा हुने हार–जितलाई बिर्सेर निजी क्षेत्रको हकहितका लागि एकतावद्ध हुनुपर्ने धारणा राख्नुभयो । उहाँले महासंघमा निर्वाचित भएर आउने नयाँ नेतृत्वसँग नेपाल चेम्बर अफ कमर्सले सधैँझैँ सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । वर्तमान समयमा निजी क्षेत्रले विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै मल्लले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । सरकारले दिने आश्वासन र व्यवहारमा भिन्नता रहेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचनमा प्रतिष्पर्धा हुनु स्वाभाविक हो, तर निर्वाचन सकिएपछि मुलुकलाई कुन बाटोमा डोहो¥याउने भन्ने विषयमा सबैको ध्यान केन्द्रित हुनुपर्छ । सरकारले व्यवसायीका कुरा सुन्ने भन्दा पनि पहिले नियन्त्रणमा लिने (थुन्ने अनि सुन्ने) प्रवृत्ति देखाएको छ । यसले लगानी र व्यवसाय गर्ने वातावरणलाई प्रभावित पारेको छ । मुलुकको समृद्धि केवल राजनीतिक दलको नेतृत्वबाट मात्र सम्भव छैन, यसमा उद्यमी, व्यवसायी र आम जनताको उत्तिकै भूमिका हुन्छ । कुनैपनि उद्यमीले कानुनविपरीत कार्य गरेमा सजाय पाउनुपर्छ, यसमा कसैको विमति छैन । तर, अन्तर्राष्ट्रिय अभ्यासविपरीत व्यवसायीमाथि हुने धरपकड र हतोत्साही गर्ने कार्य तत्काल रोकिनुपर्छ ।’
नीतिगत अस्पष्टता र झन्झटिलो व्यवस्थाका कारण व्यवसायीहरू मर्कामा परेको उहाँको तर्क छ । हालै देखिएको ‘एमआर’ (बजार अनुगमन÷नियमन) सम्बन्धी समस्याबारे चेम्बरले वाणिज्य मन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिँदै उहाँले सरकारले नीति निर्माण गर्दा निजी क्षेत्रसँग पर्याप्त छलफल नगरेको गुनासो गर्नुभयो । कानूनको शासनलाई आत्मसात गर्दै निजी क्षेत्रका समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघजस्ता संस्थाहरूले सक्रिय र एकीकृत रूपमा पहल गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो । —न्युज एजेन्सी नेपाल