नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदानलाई नजरअन्दाज गर्न नमिल्ने बताउनुभएको छ ।
महासंघको ६० औँ वार्षिक साधारण सभाका अवसरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ८१ प्रतिशत र रोजगारी सिर्जनामा ८६ प्रतिशतभन्दा बढी योगदान पु¥याउने निजी क्षेत्र नै मुलुकको वास्तविक आर्थिक इन्जिन भएको उल्लेख गर्नुभयो । अध्यक्ष ढकालले पूर्वाधार निर्माणदेखि हरेक सेवा प्रवाहमा निजी क्षेत्रको संलग्नता रहेको चर्चा गर्दै निजी क्षेत्रको अनुपस्थितिमा मुलुकको समृद्धिको कल्पना समेत गर्न नसकिने बताउनु भयो । आफ्नो कार्यकालमा महासंघले नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ (सीएनआई) सँग मिलेर निजी क्षेत्रका एजेण्डाहरूलाई सामूहिक रूपमा अगाडि बढाएको उहाँले बताउनु भयो । उहाँले कालोबजारी ऐन लगायतका पुराना कानूनहरूमा सुधार ल्याउन गरिएको प्रयास र निजी क्षेत्रको साख अभिवृद्धि गर्न ‘निजी क्षेत्र संरक्षण र प्रवद्र्धन योजना’ (पीएसपीपी) पारित हुनुलाई ठूलो उपलब्धि मान्नुभएको छ । उक्त योजनाको प्रभावकारी कार्यान्वयन भएमा निजी क्षेत्रले अझ सशक्त रूपमा आर्थिक गतिविधि सञ्चालन गर्न सक्ने उहाँको विश्वास छ ।
उहाँले भन्नुभयो, ‘विगत तीन वर्षमा हामीले पुराना कानुनहरूको संशोधन र निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन उल्लेखनीय पहल गरेका छौँ । सरकार र निजी क्षेत्रबिच ‘पक्ष र प्रतिपक्ष’ को जस्तो सम्बन्ध रहनु हुँदैन भन्ने हाम्रो स्पष्ट मान्यता रहेको छ र यसमा हामी एक हदसम्म सफल पनि भएका छौँ । निर्वाचनको प्रतिष्पर्धा भोट हाल्ने दिनसम्म मात्र सिमित हुनुपर्छ । मतदान सकिएपछि सबै पक्ष निजी क्षेत्रका साझा एजेन्डामा एक ठाउँमा उभिनु जरुरी छ ।’
महासंघको आगामी नेतृत्व चयनका सन्दर्भमा बोल्दै अध्यक्ष ढकालले आफूले सर्वसम्मत नेतृत्व चयनका लागि अधिकतम प्रयास गरेको तर त्यो सम्भव हुन नसकेको जानकारी दिनुभयो । उहाँले नयाँ आउने नेतृत्व र टिमले निजी क्षेत्रका अधुरा कामहरूलाई पूर्णता दिनेमा विश्वास व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल