राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी जेठ १ गते पुरुष १० किमी एनवाइएफएन रन हुने भएको छ ।
संघको ३७ औं स्थापना दिवसको उपलक्ष्यमा युवा संघले पुरुष १० किमी एनवाइएफएन रन आयोजना गर्न लागेको हो । बिहीवार आयोजित पत्रकार सम्मेलनमार्पmत युवा संघले प्रतियोगिताबारे जानकारी दियो । युवा संघले पहिलोपल्ट दौड आयोजना गर्न लागेको संघका अध्यक्ष महाराज गुरुङले जानकारी दिए । अर्को वर्षदेखि महिला खेलाडीको विधा पनि समावेश गरिने भएको । दौड दशरथ रंगशाला त्रिपुरेश्वरबाट शुरु हुनेछ । तीनकुने फन्को मार्दै पुनः रंगशालामा पुगेर टुंगिनेछ । आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष गुरुङले प्रतियोगितामा पाँच सय देखि हजार जनाको सहभागिता रहने आशा व्यक्त गरेका छन् ।
खुला प्रतियोगिता भएकोले राष्ट्रिय स्तरको खेलाडीदेखि राष्ट्रिय युवा संघका सदस्यहरु सहभागी हुनेछन् । नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुनेछ । प्रतियोगितामा शीर्ष ५ स्थान रहने खेलाडीको लागि पुरस्कारको व्यवस्था गरिएको छ । पहिलो हुने खेलाडीले ५० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथोले २० हजार र पाँचौं स्थान हात पार्नेले १० हजार प्राप्त गर्नेछन् । युवा संघले केपी ओली कप फुटबल आयोजना गर्दै आएको थियो । पछिल्ला तीन संस्करणपछि उक्त आयोजना रोकिएको छ । फागुन हुने गरेको केपी ओली कप यसपल्ट भने हुन सकेन । युवा संघका अध्यक्ष गुरुङले आम निर्वाचनका कारण गर्न नसकिएको बताए ।–न्युज एजेन्सी नेपाल