सरकारलाई अध्यक्ष राईको प्रश्नः सेनाको दुरुपयोग गरी गरिब जनताको बस्तीमा किन आतंक फैल्याइयो ?

.

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले सेनाको दुरुपयोग गरी सुकुम्बासी बस्तीमा आतंक फैल्याएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै अध्यक्ष राईले यस्तो आरोप लगाउनुभएको हो । उहाँले चीन–भारतबीच लिपुलेक मार्ग हुँदै भइरहेको द्वीपक्षीय व्यापारका सम्बन्ध सरकारले प्रभावकारी कुटनीतिक वार्ता गर्न नसकेको आरोप पनि लगाउनु भयो । उहाँले सेनालाई सीमा सुरक्षामा खटाउनुको सट्टा सुकुम्बासी बस्ती हटाउने कार्यमा प्रयोग गरेकोप्रति आपत्ति गर्नुभयो । गरिब सुकुम्बासीलाई बेघर बनाई  आत्महत्यासम्म गर्न बाध्य बनाउने सरकार असफल भइसकेको टिप्पणी समेत गर्नुभयो । उहाँले नेपाली सेनालाई सुरक्षाको लागि लिपुलेकतिर पठायो कि सुकुम्बासी बस्तीमा दादागिरी देखाउँदै बस्यो ? भन्दै प्रश्न समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘लिपुलेकमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ सरकार ? किन कुटनीतिक वार्ता गर्न सकने ? हस्ताक्षरबिनाको कुटनीतिक चिर्कटोको भरमा किन लुकेर बसेको छ यो सरकार ? नेपाली सेनालाई सुरक्षाको लागि लिपुलेकतिर पठायो कि सुकुम्बासी बस्तीमा दादागिरी देखाउँदै बस्यो ? सेनाको दुरुपयोग गरी गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो ? सरकारले जवाफ देओस् । आज देश अभिभावकविहीन बन्न पुगेको छ । हजारौँ, लाखौँ गरिब सुकुम्बासीहरुलाई बेघर बनाएर रुवाउने, आत्महत्या गर्न बाध्धय बनाउने सरकार असफल  भइसकेको महसुश भएको छ । सरकारले नागरिकको मौलिक हक उल्लङ्घन गरेको छ ? संविधान मिच्ने सरकारको कुनै औचित्य हुन्छ र ? ’
उहाँले संसद बोलाउनुपर्ने समयमा सरकारले अध्यादेश ल्याउँदा जनमतको अपमान भएको टिप्पणी समेत गर्नुभयो ।–न्युज एजेन्सी नेपाल