प्रतिपक्ष दल श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले जनताले सरकारबाटै असुरक्षाको महशुस गरिरहेको टिप्पणी गर्नुभएको छ ।
मंगmवार सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सो जिकिर गर्नुभएको हो । अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र साहको विगतमा जस्तै आलोचना गर्दै संसदलाई सम्बोधन गर्न पर्छ कि पर्दैन ? भनि प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्री साह जनताको प्रश्नको उत्तर दिन नसक्ने अयोग्य र असक्षम बन्ने भएको हो ? भनि जिज्ञासा समेत राख्नुभयो । अध्यक्ष राईले प्रधानमन्त्री साहले जनताको जीउधनको सुरक्षा गर्न नसक्ने, सीमा सुरक्षा गर्न नसक्ने भन्दै सरकारलाई सफल भन्न नमिल्ने तर्क समेत गर्नुभयो ।
उहाँले भन्नुभयो,‘यो सरकारको प्रधानमन्त्री छ कि छैन ? छ भने प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नु पर्छ कि पर्दैन ? सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकार प्रमुखको हैसियतले उत्तर दिनु पर्छ कि पर्दैन ? संसदमा उभिएर सांसदहरुको प्रश्नको उत्तर नदिनु भनेको जनताका प्रश्नहरुको उत्तर नदिनु हो भन्ने बुझिन्छ । जनताका प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमूना हो । के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त ? जनताले सरकारबाटै असुरक्षित महशुस गरिरहेका छन यो बेला । जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो ? यही हो त लोकतन्त्र ? जनताको जिउधनको सुरक्षा गर्न नसक्ने, सीमा सुरक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ ?’
अध्यक्ष राईले जनता सरकारसँग डराउनुपर्ने अवस्थालाई लोकतन्त्र भन्न नमिल्ने भन्दै आपत्ति समेत जनाउनु भयो ।–न्युज एजेन्सी नेपाल