प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्न काँग्रेसको माग

.

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको संसद्मा देखिएको व्यवहारप्रति आपत्ति जनाएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रश्तुत भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र साह संसद बैठकको बीचैबाट बाहिरिएको घटनालाई काँग्रेसले ‘अमर्यादित र दुर्भाग्यपूर्ण’ संज्ञा दिएको हो । मंगलवारुको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदको गरिमा र इज्जतमा आँच पुग्नेगरी प्रधानमन्त्रीले व्यवहार प्रदर्शन गरेको आरोप लगाउनु भयो । उहाँले विश्वका कुनैपनि मुलुकमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँडेको इतिहास नरहेको भन्दै यसलाई व्यङ्ग्यात्मक रूपमा ‘गिनिज बुक’मा नाम लेखिने विषय भएको टिप्पणी गर्नुभयो ।
नेता आङदेम्बेले प्रधानमन्त्रीको अचानकको बहिर्गमनलाई स्वास्थ्य अवस्थासँग जोड्दै यसबारे संसद्लाई आधिकारिक जानकारी दिन माग गर्नुभयो । आङदेम्बेले प्रधानमन्त्रीको मन स्थिर र शान्त नदेखिएको उल्लेख गर्दै सत्ताको भार अपेक्षा गरेभन्दा बढी भएका कारण यस्तो व्यवहार देखिएको हुनसक्ने संशय व्यक्त गर्नुभयो । प्रधानमन्त्रीको अहङ्कारपूर्ण व्यवहारले जनताको मन कुडिएको र देशकै शिर झुकेको उहाँको दाबी छ ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको स्वास्थ्य स्थिति गम्भीर बनेर उहाँ हिँड्नुभएको हो भने अविलम्व स्वास्थ्य परीक्षण गरी संसद्लाई जानकारी गराइयोस् । प्रधानमन्त्री रास्वपाको मात्र नभई राष्ट्रकै सम्पत्ति भएकाले उहाँको स्वास्थ्यप्रति हामी पनि चिन्तित छौँ ।’
सम्बोधनका क्रममा उहाँले सभामुखको भुमिकाप्रति पनि प्रश्न उठाउनु भयो । सदनलाई मर्यादित र व्यवस्थित बनाउने जिम्मेवारी सभामुखको भएपनि प्रधानमन्त्री बीचैमा निस्कँदा सभामुख मौन रहेको भन्दै उहाँले आश्चर्य व्यक्त गर्नुभयो । यो घटनाले सदनको गरिमामा दाग लागेको महशुस भएको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल