सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनैपर्छः भिष्मराज आङदेम्बे

.

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र साहको उपस्थिति हुनै पर्ने बताउनु भएको छ ।
बुधवार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुख डिपि अर्यालको ध्यानाकर्षण पनि गराउनु भयो । नेता आङदेम्बेले आफूले प्रधानमन्त्री विरामी भएको भए त्यसको जानकारी गराउन सभामुख अर्याललाई गरिएको आग्रह बेवास्ता गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।
नेता आङदेम्बेले भन्नुभयो,‘प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा अर्थमन्त्रीले प्रश्ताव प्रश्तुत गर्न पाउनु हुन्छ । यसमा हाम्रो विमत्ति होइन । तर प्रश्ताव प्रश्तुत भइसकेपछाडि जब बैठक प्रारम्भ हुन्छ । सायद हामी छलफलमा जान्छौ होला । छलफलका लागि हामीले बारम्बार के भनिरहेका छौँ भने हिजो पनि मैले विपक्ष दलको नेताको हैसियतमा मैले बोल्दाखेरी पनि सम्माननीय प्रधानमन्त्रीजीको उपस्थिति सायद यो अत्यन्तै महत्वपूर्णं छलफलमा उहाँको उपस्थिति माग्छ । मैले सभामुखजीको ध्यान अझै पनि आकर्षित गराउन चाहन्छु यदि उहाँ साँच्चै बिरामी हुनुभएको हो भने मैले त्यसको जानकारीको लागि पनि आग्रह गरेको थिए । उहाँका सल्लाहकारले उहाँ विरामी पर्नुभएको भन्ने खवर आईरहेको थियो । संसदबाट सबै विपक्ष दलहरुले उहाँको स्वास्थ्यको चिन्ता गरेपछि सभामुखजीले त्यसको जानकारी दिँदा राम्रो हुन्थ्यो । त्यसकारण म सभामुखजीलाई अझै पनि आग्रह गर्न चाहन्छु छलफलमा उहाँको उपस्थिति हुनैपर्छ ।’
नेता आङदेम्बेले संसदमा सरकारको नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण छलफलमा प्रधानमन्त्रीले अनुपस्थिति हुनेकुरा हुन नसक्ने पनि बताउनु भयो ।–न्युज एजेन्सी नेपाल