सरकारको अधिनायकवाद विरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन युवाहरुलाई एमाले महासचिव पोखरेलको आह्वान

.

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सन्तुलन खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै युवाहरूलाई सरकारको अधिनायकवाद विरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गर्नुभएको छ ।
३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आईतवार आयोजित विमर्श कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आह्वान गर्नुभएको हो । उहाँले सत्तत्रारुढ दल र सरकारबाटै प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुन नपर्ने खालको परिपाटी विकास गर्न खोजिएको आरोप पनि लगाउनु भयो । सरकारले सर्वोच्च अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न गरेको समेत टिप्पणी गर्नुभयो । महासचिव पोखरेलले पपुलिज्मको आवरणमा हुर्कंदै गरेको अधिनायकवादको प्रतिवादका लागि युवाहरू एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राज्यका तनि वटा अंगहरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका बीचको सन्तुलन नै खल्बल्याइएको छ । प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनै नपर्ने खालको परिपार्टी विकास गर्न खोजिएको छ । अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न भएको छ । यो परिस्थितिमा युवाहरुले फेरी पपुलिज्मको आवरणमा हुर्कन खोजिरहेको अधिनायकवादको विरुद्धमा संगठित हुनुपर्ने, आन्दोलित हुनुपर्ने आवश्यकता छ । र त्यो आन्दोलनको आधार अब हामीले जनताको बहुदलीय जनवाद (जबज)को सैद्धान्तिक मार्गदर्शन बनाउनुपर्दछ ।’
उहाँले सरकारका मन्त्रीहरुको सम्पतीमाथि समेत प्रश्न गर्नुभयो । उहाँले मन्त्रीहरुले सुनमा लगानी गरेकोप्रति आपत्ति जनाउँदै के मा लगानी गर्ने भन्ने थाहा नभएको मान्छेले मुलुकको विकास गर्न सक्छ ? भन्दै प्रश्न समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल