राजनीतिलाई ‘फोहोरी खेल’ भन्दै आफ्नै सन्तानलाई टाढा राख्दा युवा सहभागिता घट्योः मुख्य सचेतक महर

.

नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले युवा अवस्था केवल उमेर समूह मात्र नभएर विचार, अनुशासन र दृष्टिकोणको सङ्गम भएको बताउनुभएको छ ।
राजनीतिक गतिविधिहरूमा युवा पुस्ताको न्युन उपस्थितिलाई लिएर उहाँले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको हो । आईतवार मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले परिकल्पना गरेको युवा उमेर र विचारको फ्युजन भएको उल्लेख गर्नुभयो । पछिल्लो समय पार्टीका कार्यक्रम र आन्दोलनहरूमा युवा सहभागिताको खाडल बढ्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । महरले राजनीतिक दल र नेताहरूले नयाँ पुस्तासँग ‘कनेक्सन’ (सम्बन्ध) र ‘कम्युनिकेसन’ (सञ्चार) गर्न नसकेको स्वीकार गर्नुभयो ।
महरले भन्नुभयो, ‘युवा भनेको उमेर मात्र होइन, यो एउटा विचार, अनुशासन र परिवर्तनप्रतिको समर्पण पनि हो । यदि कोही युवा छ तर निष्क्रिय भएर अरूबाट मात्र अपेक्षा गर्छ भने, त्यसलाई वास्तविक युवा मान्न सकिँदैन । हाम्रा कार्यक्रमहरूमा ९० प्रतिशतभन्दा बढी सहभागीहरू ४० वर्ष माथिका देखिन्छन् । नयाँ पुस्ता अर्थात ‘जेन–जी’ को उपस्थिति नदेखिनुमा हाम्रा कमी–कमजोरीहरू कहाँ रहे, त्यसको तथ्यपूर्ण खोजी हुनुपर्छ । हामीले केवल कुराले मनाउने (कन्भिन्सिङ) कोसिस मात्र गर्यौँ, तर वास्तविक सम्बन्ध स्थापित गर्न सकेनौँ ।’
नेता तथा कार्यकर्ताहरूले आफ्नै परिवार र आफन्तलाई राजनीतिबाट टाढा राख्ने प्रवृत्तिले पनि युवा सहभागितामा ह्रास आएको उहाँको तर्क छ । मुख्य सचेतक महरले युवाहरूलाई राजनीतिमा आकर्षित गर्न र आन्दोलनसँग जोड्नका लागि पार्टीले आफ्नो कार्यशैली र सञ्चार पद्धतिमा सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ । –न्युज एजेन्सी नेपाल