नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडलले प्रधामन्त्री बालेन्द्र साहले जानीजानी संसदको उपेक्षा गरेको आरोप लगाउनुभएको छ ।
प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा बोल्दै उहाँले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको आरोप लगाउनुभएको हो । प्रधानमन्त्री संसदप्रति उत्तरदायित्व हुनुपर्नेमा उहाँले जोड दिनुभयो । वर्तमान सरकारको गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि नै जोखिम बढाएको उहाँको भनाई छ । ठूलो जनविश्वासका साथ बनेको सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्न थालेको उहाँले बताउनु भयो । यसले नागरिकमा निराशा बढ्दै जाने र व्यवस्था परिवर्तनकै खतरनाक सोच विकसित हुनसक्ने बताउनु भयो । उहाँल्ले सरकारले शक्तिको अत्यधिक केन्द्रिकरण गरेको पनि आरोप लगाउनु भयो । राजश्व अनुसन्धान, सम्पती शुद्धीकरण र विशेष अनुसन्धान जस्ता निकायहरूलाई प्रधानमन्त्री केन्द्रित बनाएको उहाँको आरोप छ । उहाँले संवैधानिक परिषद्लाई पपनि ६ सदस्यीय समितिमा ३ जनाले बहुमत पुग्ने संरचना बनाएको बताउनु भयो । उहाँकाअनुसार यस्तो अभ्यास विश्वमै दुर्लभ छ । उहाँले नेपाली काँग्रेस अहिले प्रतिपक्षको भुमिकामा रहेको उल्लेख गर्दै लोकतन्त्र र संसदीय प्रणालीको रक्षा गर्न सरकारलाई निरन्तर प्रश्न गर्ने बताउनु भयो । सरकार असफल होस् भन्ने हाम्रो चाहना नभए पनि लोकतन्त्र कमजोर बनाउने कुनैपनि प्रयासविरुद्ध प्रतिपक्ष चुप बस्न नमिल्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘अहिले एकदमै धेरै ठूलो विश्वासका साथ सरकार बनेको छ । यो विधिको पक्षपाती हामीहरु नै हौं । हामीले लडेर स्थापित गरेको विधिमा विधि स्थापनाका निम्ति केही पनि नगर्नेहरु जनताको विश्वास प्राप्त गरेर आउनुभएको छ । लोकतन्त्रको सुन्दरता नै यही हो । त्यसमा हाम्रो कुनै असहमति या रिजर्भेसन छैन । तर यतिबेला हाम्रो भनाइ के हो भने यति ठुलो जनविश्वास प्राप्त गरेर आएको सरकार यति चाँडै प्रश्नहरुको घेराबाट घेरिन थाल्यो भने नागरिकको निराशा झन् बढेर जान्छ । नागरिकहरु अति बढी निराश हुने, अब व्यवस्थाभित्रै विकल्प छैन कि भन्ने ढंगबाट सोच्ने जोखिम बढेको जस्तो हामीलाई लाग्छ । त्यसैले प्रतिपक्षको बेन्चमा बसेर हामी सरकार असफल होस् भनेर चाहिरहेका छैनौं । चुनाव अस्ति थियो, हामी हार्यौँ । फेरि अर्को चुनाव आउँछ । चुनाव आवधिक रुपमा आइरहने व्यवस्थाका पक्षपातीहरु पक्षपाती हामीहरु हौं । यसकारण यो व्यवस्थाकै बर्खिलापमा जनमत बन्ने गरी सरकार प्रश्नहरुको घेरामा सिमित हुने स्थिति बन्ने त होइन ? अहिले भइरहेका कुराहरु प्रधानमन्त्रीले नजानेर होइन, उहाँको अपरिपक्वताले होइन, नियतवश भइरहेका छन् । उहाँले जानीजानी संसदको उपेक्षा गर्नुभएको छ । त्यसैले संसदीय व्यवस्थाभित्र यो ढंगबाट संसदको उपेक्षा गर्न मिल्छ ? प्रधानमन्त्रीलाई संविधानले उत्तरदायी बनाएको छैन ? त्यो उत्तरदायी उत्तरदायित्व निर्वाह नगर्न मिल्छ ? त्यसमा कैयौं प्रश्नहरु उठ्ने स्थिति बनाउन मिल्छ ? त्यसैले यो नजानेर होइन, जानीजानी भइरहेको छ । हिजोसम्म प्रधानमन्त्रीसँग राजस्व अनुसन्धान भयो, सम्पती शुद्धिकरण भयो, विशेष अनुसन्धान भयो भनेर विरोध गर्नेहरुले आज प्रधानमन्त्रीलाई कति शक्तिशाली बनाइरहनुभएको छ । आज प्रधानमन्त्री केन्द्रित सबै निर्णयहरु भइरहेको छ । हुँदाहुँदा ६ जनाको समितिमा ३ जनाले बहुमत पुग्ने स्थिति बनाउनुभएको छ । संसारमा यस्तो कहीँ पनि हुँदैन । त्यसैले सर्वमान्य मान्यताहरुको खिलाफमा जुन ढंगबाट काम भइरहेको छ, यसले नेपालको व्यवस्था माथि जोखिम बढेको त होइन ? लोकतान्त्रिक व्यवस्था माथि जोखिम बढेको त होइन ? प्रश्न र संशय उत्पन्न गरेको छ । यो बेलामा हामीले नेपाली कांग्रेस पार्टीले यति चाँडै प्रश्न उठाउन चाहँदैनथ्यो । तर हामीलाई पनि विपक्षी कहाँ छ ? संसदीय व्यवस्था भित्र दुईटा कित्ता हुन्छ । एउटा सत्ता पक्ष, अर्को प्रतिपक्ष । अब सत्ता पक्षको भूमिका हामीले अदा गर्न सक्ने स्थिति छैन । हामी यतिबेला प्रतिपक्षको भुमिकामा पुगेका छौं । प्रतिपक्षको भुमिका किटानी गरिएको हुन्छ, आज हामी भूमिका रहित छैनौं । भूमिका फेरिएको छ । फेरिएअनुसार भूमिका निर्वाह गर्न मानसिक रुपमा हामी तयार हुनुपर्छ । हामी अब विपक्षको भूमिकालाई कसरी प्रभावकारी ढंगले निर्वाह गर्न सक्छौं, त्यस अनुसार हामीले आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्छ । त्यसैले विपक्षको भूमिका निर्वाह गर्दै गर्दा हामीलाई लोकतन्त्रवादीहरुले प्रश्न गर्न थाल्नुभयो, तपाईँहरु कहाँ हुनुहुन्छ ? के गरिरहनुभएको छ ? त्यसैले धेरै प्रश्नहरु सोध्ने स्थिति सरकारले बनाएको अवस्था छ । यस आधारमा हामीहरुले सरकारलाई यो सबै कुरा सोधेर प्रश्नहरुले घेराबन्दी गर्ने परिस्थिति निर्माण गर्न सक्नुपर्छ । त्यसमा हाम्रो भूमिका मात्रै पर्याप्त हुँदैन । सबै लोकतन्त्रवादीहरुको भूमिका यसमा जोडिनुपर्छ । ‘मैले गरेपछि कसले विरोध गर्छ ? म नै सबैथोक हुँ’ भन्ने मनोविज्ञान बन्दै गयो भने त्यो सबैथोक आफू भएको ठान्नेले लोकतन्त्र खाइदिन्छ । त्यसैले हामीले समयमै ‘तिमी सबैथोक होइनौ । तिमी पनि सिमित घेराभित्र छौ । राम्रो काम गर्यौ भने तिमीलाई समर्थन प्राप्त हुन्छ, नराम्रो काम गर्यौ भने तिमीलाई दिएको समर्थन फिर्ता हुन सक्छ’ भन्ने हामीले संकेत दिन सक्नुपर्छ । त्यस आधारमा हामीले भूमिका गर्न सक्नुपर्छ । सरकार सत्तामा पनि आफैँ छ अनि मल्टिपल आईडीबाट म्यानिपुलेट गरेर प्रतिपक्षमा पनि आफैँ बस्न खोजिरहेको छ । असत्य कुरालाई निरन्तर रुपमा सत्य हो भनेर भ्रम सिर्जना गर्ने जुन ढंगले सरकारले कोसिस गरिरहेको छ, त्यसलाई हामीले चिर्न सक्नुपर्छ । यो हाम्रो साझा दायित्व हो । राज्यको चरित्र डेमोक्रेटिक भएन भने राज्यले नागरिकलाई धेरै दुख दिन्छ । राज्य नागरिकको पक्षमा हुँदैन, राज्यले समान व्यवहार गर्दैन, राज्यले विधिको शासनलाई स्थापित गर्न सक्दैन । अहिले सरकारको चरित्र डेमोक्रेटिक भएको मान्न नसकिने थुप्रै तर्कहरु बनिसकेका छन् । त्यसैले राज्यको चरित्र फेरिएको आभास भएपछि हामीले त्यसलाई स्वीकार्न सक्दैनौं । यो डेमोक्रेटिक क्यारेक्टर भएको देश हामीले बनाउन खोजेको हो । त्यसकै निम्ति कांग्रेस जन्मिएको हो ।’
उहाँले ‘म नै सबैथोक हुँ’ भन्ने मनोविज्ञान प्रधामन्त्रीमा हाबी भएको आरोप लगाउनु भयो । यस्तो प्रवृत्तिले लोकतन्त्रलाई नै निल्ने खतरा हुने उहाँको भनाई छ । उहाँले सरकारलाई समयमा नै सिमाभित्र राख्न नसकेमा लोकतान्त्रिक मूल्य र प्रणालीमा गम्भीर संकटमा पर्न सक्ने बताउनु भयो । लोकतान्त्रिक चरित्र कमजोर भएको राज्यले नागरिकलाई पीडा दिने उहाँको भनाई छ । उहाँले काँग्रेस पार्टी लोकतान्त्रिक मूल्य र विधिको रक्षा गर्न पछि नहट्ने बताउनु भयो । – न्युज एजेन्सी नेपाल