‘सुशासनको लाभांश’ नेपाली समाजमा फैलाउँछौँः अर्थमन्त्री वाग्ले

.

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तार रहेको बताउनुभएको छ ।
काठमाडौंमा सोमवार आयोजित नेपाल विजनेश समिटिलाई सम्बोधन गर्दै उहाँले  नेपाली जनताले दिएको अभूतपूर्व जनादेशलाई स्वीकार गर्दै वर्तमान सरकारले सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तारलाई मूल प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । अर्थमन्त्री वाग्लेले विगत १०–१५ वर्षको कुशासनका कारण नेपाली समाजले ठूलो मूल्य चुकाउनुपरेको भन्दै अब त्यसबाट मुक्त गराइने बताउनु भयो । ‘सुशासनको लाभांश’ नेपाली समाजमा फैलाउने सरकारको लक्ष्य रहेको बताउँदै वाग्लेले आगामी बजेट सुधारवादी बजेट आउने बताउनु भयो । उहाँकाअनुसार सुशासन प्रर्वद्धनका लागि संस्थागत तथा कानूनी सुधार, दर्जनौँ ऐन संशोधन, सूचना प्रविधि र डिजिटाइजेसनको व्यापक प्रयोग गरिनेछ । ई–गभर्नेन्स, सार्वजनिक सेवा प्रवाह र डिजिटल अर्थतन्त्रको आधार निर्माणमा सरकारले प्राथमिकता दिइरहेको छ । नेपालको अर्थतन्त्र विगत दुई दशकमा अत्यधिक रूपमा विप्रेषणमा आधारित बनेको छ । अब दिगो आर्थिक वृद्धिका स्रोत निर्माणमा जोड दिनुपर्छ । आगामी दशकहरूमा रेमिट्यान्समाथिको निर्भरता घटाउँदै स्वच्छ ऊर्जा, डिजिटाइजेसन, पर्यटन, हरित उत्पादन र उच्च मूल्यको कृषिलाई आर्थिक वृद्धिको आधार बनाउने नीति सरकारको रहेको उहाँले स्पष्ट पार्नुभयो ।
युवाहरूलाई नेपालमै बसेर विश्वसँग जोड्ने गरी डिजिटल अर्थतन्त्र निर्माणमा सरकारले विशेष ध्यान दिने बताउँदै अर्थमन्त्री वाग्लेले केही क्षेत्रहरूमा आयात प्रतिस्थापन र औद्योगिक नीति सञ्चालनका लागि सरकारले कार्यक्रमहरू अघि बढाउन लागेको जानकारी दिनुभयो ।
पूर्वाधार विकासमा सरकारले एकीकृत दृष्टिकोण अपनाउने बताउँदै उहाँले सडक सञ्जाल विस्तार, ऊर्जा कनेक्टिभिटी, स्वच्छ ऊर्जा ग्रिड, भरपर्दो इन्टरनेट सेवा र उड्डयन सुरक्षामा विशेष जोड दिइने बताउनुभयो । नेपाललाई आन्तरिक रूपमा, क्षेत्रीय रूपमा र विश्वसँग थप मजबुत रूपमा जोड्ने लक्ष्य सरकारको रहेको उहाँको भनाइ थियो ।
अर्थमन्त्री वाग्लेकाअनुसार सरकारले सामाजिक क्षेत्रतर्फ गुणस्तरीय स्वास्थ्य, शिक्षा, पोषण, आधारभूत वित्तीय पहुँच र दिगो सामाजिक सुरक्षा संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ । उहाँले वैदेशिक सम्बन्धलाई नयाँ ढंगले अघि बढाइने बताउनु भयो । विश्वभर रहेका गैरआवासीय नेपालीहरूको सञ्जाललाई केवल भावनात्मक सम्बन्धका रूपमा नभई लगानी, शैक्षिक आदानप्रदान र सांस्कृतिक प्रभाव विस्तारको माध्यमका रूपमा उपयोग गरिने समेत उहाँको भनाइ थियो । भौतिक पूर्वाधार विस्तारमा निजी क्षेत्रको ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले सरकारको पूँजीगत खर्च मात्र पर्याप्त नहुने बताउनु भयो ।–न्युज एजेन्सी नेपाल