विनियोजन विधेयक जनतासँगका प्रतिवद्धता कार्यान्वयनका लागि गरिएको इमान्दार प्रयास होः अर्थमन्त्री

.

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई जनतासँग गरिएको प्रतिवद्धता कार्यान्वयनका लागि गरिएको इमान्दार प्रयासको रुपमा बुझिदिन सांसदहरुलाई आग्रह गर्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा सो विधेयकको सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । अर्थमन्त्री वाग्लेले सो विधेयक सरकारले विभिन्न राजनीतिक दलको घोषणा पत्रमा उल्लेख गरिएका विषयबस्तुलाई पनि समेट्ने प्रयास गरेको बताउनु भयो । उहाँले उक्त विधेयक सरकारको दृष्टिकोण मात्रै नभएर संविधान, योजना, दिगो विकास, विभिन्न राजनीतिक दलका घोषणा पत्र तथा नेपाली जनताले व्यक्त गरेका साझा आकांक्षालाई समेटिएको जिकिर पनि गर्नुभयो ।
अर्थमन्त्री वाग्लेले भन्नुभयो,‘यो विधेयकले केवल सरकारको दृष्टिकोणको मात्रै प्रतिनिधित्व गर्दैन । यसले संविधानको निर्देशक सिद्धान्त, योजना, दिगो विकास, विभिन्न राजनीतिक दलका घोषणा पत्र तथा नेपाली जनताले व्यक्त गरेका साझा आकांक्षालाई समेट्ने प्रयास गरेको छ । जनतासँग गरिएका प्रतिवद्धतालाई कार्यान्वयनमा रुपान्तरण गर्ने इमान्दार प्रयत्नका रुपमा यसलाई ग्रहण गरिदिन म यस सम्मानित सदन समक्ष आग्रह गर्दछु ।’
त्यस अवसरमा अर्थमन्त्री वाग्ले सरकारले राष्ट्र निर्माणमा बहसमा केन्द्रित भएर अघि बढ्न पनि सांसदहरुलाई आह्वान गर्नुभयो । –न्युज एजेन्सी नेपाल