सांसदहरुले विपद्मा परेका नागरिकहरुलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलवार बसेको बैठकमा बोल्दै सांसदहरु आशिष गजुरेल, बलावती शर्मा, गोविन्द पन्थी, भुमिका लिम्बू सुब्बा लगायतका सांसदहरुले गएराति आएको हावाहुरीलगायतका कारण गुल्मी, बाग्लुङ, पाँचथर, सिन्धुली लगायतका ठाउँहरुमा जनजीवन प्रभावित भएको भन्दै तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । सांसद आशिष गजुरेलले पानीजन्य जोखिम नियन्त्रणका लागि विद्यालयलगायतका ठाउँहरुमा उचित ज्ञानको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सिन्धुली जिल्लामा हालै पौडी खेल्ने क्रममा एक युवाको ज्यान गएको दृष्टान्त पेश गर्दै त्यस्ता खालको जोखिम हुनबाट बचाउनका लागि पूर्वाधार विकासमा पनि सुरक्षाको मापदण्ड पालना नगर्नेहरुमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
सांसद गजुरेलले भन्नुभयो,‘पूर्वाधार निर्माणको क्रममा खाल्डाखुल्टी छाड्ने तथा सुरक्षाको मापदण्ड पालना नगर्ने प्रवृत्तिलाई कडाईका साथ पालना र दोषीमाथि कडाबाही गर्नुपर्दछ । त्यसैले म नेपाल सरकारलाई बालबालिकाको सुरक्षा र जनचेतना अभिवृद्धि र सुरक्षाको लागि विशेष ध्यान दिन आग्रह गर्दछु । पानीजन्य जोखिम न्युनिकरणका लागि सीपमूलक ज्ञानको व्यवस्था गर्न पनि सरकारसँग माग गर्दछु ।’
सांसद गोविन्द पन्थीले गएराति आएको हावाहुरीले गुल्मी जिल्लाको विभिन्न ठाउँमा ठूलो क्षति पुगेको उल्लेख गर्दै विपदमा परेका नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सरकारले पीडित नागरिकको उद्धारमा विशेष ध्यान दिनुपर्ने पनि बताउनु भयो ।
सांसद पन्थीले भन्नुभयो,‘गुल्मीमा पनि ठूलो क्षति पुगेको छ । ६ सय नागरिक प्रभावित भएका छन् । उनीहरुको खाद्यन्न नष्ट भएको छ । पीडित नागरिकहरु खुला आकाशमा बस्न बाध्य भएका छन् । उनीहरुलाई तत्काल राहतको व्यवस्था गरियोस् ।’
बाग्लुङमा पनि हावाहुरीमा पनि नागरिकले पीडा भोग्नु परेकाले सरकारले तत्काल उनीहरुलाई राहतको व्यवस्था गर्नुपर्ने सांसद बलावती शर्माले बताउनु भयो । उहाँले जोखिमयुक्त बस्तीमा बसेका नागरिकलाई उचित ठाउँमा स्थानान्तरण गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
सांसद शर्माले भन्नुभयो, ‘बागलुङको विभिन्न ठाउँमा हावाहुरी चटयाङ लगायतका कारण नागरिकको जनजीवन कष्टकर बन्न पुगेको छ । त्यस्ता ठाउँका नागरिकलाई सरकारले तत्काल राहतको व्यवस्था गरोस् ।’
सांसद भुमिका लिम्बू सुब्बाले पाँचथरमा पनि बाढी र पहिरोका कारण भएको क्षतिको एकीन विवरण तय गरी नागरिकलाई राहतको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
उहाँले भन्नुभयो,‘बाढी र पहिरोले त्यहाँ ठूलो क्षति भएको छ । पीडितलाई राहत दिने र उनीहरुको अस्थायी बासको पनि तत्काल व्यवस्था गर्न म सरकारसँग अनुरोध गर्दछु ।’
सांसद सुब्बाले सरकारले पीडामा रहेका नागरिकलाई तत्काल अस्थायी बासको व्यवस्था बनाउन पनि ढिलाई गर्न नहुने बताउनु भयो । –न्युज एजेन्सी नेपाल