नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा जापानमा आगामी सेप्टेम्बरमा आयोजना हुने २०औं एसियन गेम्सको तयारीबारे समावेश भएको छैन ।
सरकारले आठ वटा शहरमा आधुनिक क्रिकेट रंगशाला निर्माणसँगै सात वटा शहरमा दुई हजार क्षमताको इन्डोर मल्टिपरपोज स्टेडियममा बनाउने जस्ता महत्वपूर्ण योजना अघि सारेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमा एसियन गेम्सको तयारी बारे पनि उल्लेख भएको छैन । यद्यपि, अर्थमन्त्री वाग्लेले खेलक्षेत्रका लागि चार अर्ब तीन करोड छुट्याएका छन् । अर्थमन्त्रालयले खेलकुदलाई तीन अर्ब २० करोडको सिलिङ दिएको थियो । तर, सिलिङभन्दा ८२ करोड थपसहित बजेट आएको छ । एसियन गेम्स, दशौं राष्ट्रिय खेलकुद र पारा खेलकुदजस्ता महत्वपूर्ण आयोजना कार्यक्रममा समावेशसहित बजेट प्रस्ताव भएको थियो ।
तीमध्ये जापानमा आयोजना हुने २०औं एसियन गेम्सको तयारीका लागि भने बजेटमा उल्लेख गरिएको छैन । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियन गेम्स तयारीका लागि १५ देखि १६ करोडको माग गरेको थियो । प्रस्तावित बजेटमा फाप्ला क्रिकेट मैदान निर्माण समावेश थिएन । सोही कारण प्रस्तावभन्दा बढी बजेट आएको हुन सक्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का एक अधिकारीले उल्लेख गरे । यद्यपि, उक्त बजेटमा क्रिकेट रंगशाला निर्माण, बहुउद्देश्यीय इन्डोर निर्माण र खेलाडीलाई अवकाशपछि निशुक्त स्वास्थ्य उपचार गर्ने जस्ता महत्वपूर्ण कार्यक्रममा समावेश गरिएको छ । साथै ग्रासरुटदेखि नै खेल विकासका लागि सरकारले विद्यालय तहदेखि नै आवसीय सुविधासहित तालिम दिने व्यवस्था गर्ने भएको छ ।
आगामी तीन वर्षभित्र आठ हजार दर्शक क्षमताका फुटबल मैदान बनाउने सरकारको बजेटमा उल्लेख छ । साथै उक्त स्टेडियममा १० वटा फ्लड लाइट जोडिने भएका छन् । सरकारले प्रमुख आठ शहरमा आधुनिक क्रिकेट रंगशाला बनाउन आगामी पाँच वर्षको दीर्घकालीन योजना अघि सारेको छ । बहुउद्देश्यीय इन्डोर हल विराटनगर, सुर्खेत, बुटवल, लहान, धनगढी र पोखरामा बन्ने भएका छन् । जसको क्षमता दुई हजार रहनेछ । गत वर्ष नै दशौं राष्ट्रिय खेलकुद आयोजना हुनुपर्ने थियो । तत्कालीन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले चासो नदिएपछि कर्णाली प्रदेशमा तय दशौं राष्ट्रिय खेलकुद हुन सकेन ।त्यसका लागि छुट्याएको बजेट नै फ्रिज हुन पुग्यो ।
वर्तमान सरकारले पनि कर्णाली प्रदेशमा आयोजना हुने दशौं खेलकुदका लागि बजेटलाई निरन्तरता दिएको छ । मधेशमा हुने एघारौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधारको लागि बजेट छुट्याएको छ । मूलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, गिरीजाप्रसाद कोइराला रंगशाला र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला डिजाइन परिवर्तन गरी लगानी मोडालिटी तयार गर्ने जनाएको छ । विद्यार्थीलाई विद्यालयबाटै खेलकुदको तालिम दिने र अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाश प्राप्त पछि आजिवन निशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा भएको छ । कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तय गर्ने बजेटमा उल्लेख छ ।–न्युज एजेन्सी नेपाल