प्रधानमन्त्री बालेन्द्र साहले नेपाललाई पैसाको आवश्यकता भएकोले सरकारको ध्यान पैसा बढाउनेतिर रहेको बताउनुभएको छ ।
आईतवार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद प्रमेश हमालले गर्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले उत्पादन र निर्यात बढाउन तत्काललाई नेपाल अल्पविकसित राष्ट्र (एलडिसी) बाट स्तरोन्नति हुने कार्यक्रम स्थगित गरिएको बताउनु भयो । उहाँले नेपाललाई उत्पादन र निर्यातमुखी अर्थतन्त्रतर्फ लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले निर्यातमा प्राप्त हुँदै आएका कर छुट तथा व्यापारिक सहुलियतहरूलाई ध्यानमा राखेर सरकारले रणनीतिक कदम चाल्नुपर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री साहले एलडिसी स्तरोन्नतिसँगै नेपाली वस्तु निर्यातमा लाग्ने कर तथा व्यापारिक सुविधामा असर पर्न सक्ने भएकाले सरकारले दुई वर्षसम्मको थप समय लिएको जानकारी दिनुभयो । अहिले देशको प्राथमिकता आत्मविश्वास बढाउनेभन्दा पनि आर्थिक गतिविधि विस्तार गर्दै राजस्व र आम्दानी वृद्धि गर्नु रहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘हाम्रो छिमेकी राष्ट्र चीन अस्ती भर्खरै डेभलपिङबाट डेभलबमा गएको थियो । जबकी त्यो देश डेभलवमेन्टको परकाष्टा नाघिसकेको देश हो, त्यो । यो कुराहरु चाँही रणनितिक रुपमा सरकारले राख्नुपर्छ । अहिले नै हामीले एलडिसीबाट ग्रायजुयट हुँदैगर्दा हाम्रो व्यापारका कुराहरु, निर्यात गर्ने बस्तुहरुमा लाग्ने कर अहिले छुट पाईन्छ । हामी निर्यातमुखी हुनुपर्छ । देशमा उत्पादन भएको बस्तुहरु विभिन्न राष्ट्रहरुमा हामीले निर्यात गर्न पाउँ भन्ने हिसाबले दुई वर्ष थप गरेका हौँ । अहिले आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर ध्यान गएको छ, हाम्रो ।’
सासंद हमालले सबै मापदण्ड पुगिसक्दा पनि किन एलडिसी स्तरोन्नति गर्न समय थप गरेको ? भन्दै प्रश्न गर्नुभएको थियो । –न्युज एजेन्सी नेपाल