सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी

.

उद्योगपति विनोद चौधरीले विगतमा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई अन्त्य गर्ने सरकारको योजना सकारात्मक रहेको बताउनुभएको छ ।
नेपाल उद्योग परिसंघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उहाँले विगतमा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्ति रहेको र त्यसलाई अन्त्य गर्नु सकारात्मक रहेको बताउनु भयो । उहाँकाअनुसार अब पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले परियोजनाहरूलाई अगाडि बढाउने वातावरण निर्माण हुनुपर्छ । चौधरीले प्रशासनिक, कानुनी, न्यायिक तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा सुधारको प्रक्रिया अघि बढेको उल्लेख गर्दै त्यसलाई थप तीव्रता दिनुपर्ने बताउनु भयो । उहाँले मुलुकमा सुधार र आशावादको वातावरण सिर्जना भए पनि त्यसलाई ठोस लगानी तथा परियोजनाको कार्यान्वयनमा रूपान्तरण गर्न आवश्यक रहेको बताउनु भयो ।
ऊर्जा क्षेत्रलाई उदाहरणका रूपमा प्रश्तुत गर्दै उहाँले विद्युत खरिद–विक्री सम्झौता (पीपीए) को प्रतिक्षामा रहेका हजारौँ मेगावाट क्षमताका परियोजनाहरू लामो समयदेखि रोकिएको चौधरीले बताउनु भयो । दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि पीपीए प्रक्रिया अपेक्षित रूपमा अगाडि बढ्न नसकेको उल्लेख गर्दै उहाँले ५ हजार मेगावाटभन्दा बढी क्षमताका परियोजनाहरू प्रभावित भएको बताउनु भयो ।
उद्योगपति चौधरीले भन्नुभयो,‘एकातर्फ हामी प्रशासनिक, कानुनी, न्यायिक तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा आवश्यक सुधारका लागि अगाडि बढिरहेका छौँ र ती सुधारलाई थप तीव्रता दिनुपर्ने आवश्यकता पनि छ । अर्कोतर्फ, मुलुकमा विकसित भइरहेको आशावादको वातावरणलाई अझ सशक्त बनाउँदै व्यवहारिक तथा ठोस लगानी परियोजनाहरू अगाडि बढाउनुपर्ने आवश्यकता देखिन्छ । ऊर्जा क्षेत्र यसको एउटा प्रमुख उदाहरण हो । ऊर्जा उत्पादकहरू लामो समयदेखि विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) को प्रतीक्षामा छन् । दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि पीपीए प्रक्रिया अपेक्षित रूपमा अगाडि बढ्न नसकेको गुनासो उनीहरूले गरिरहेका छन् । ५ हजार मेगावाटभन्दा बढी क्षमताका परियोजनाहरू पीपीएका कारण रोकिएका छन् । विगतमा सीमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई अन्त्य गर्दै पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले परियोजनाहरूलाई अगाडि बढाउने वातावरण निर्माण गर्ने सरकारको प्रतिबद्धता र दृष्टिकोण देखिएको छ । अब यो प्रक्रिया सकेसम्म छिटो कार्यान्वयनमा जान आवश्यक छ । पर्यटन क्षेत्रका सन्दर्भमा पनि सकारात्मक संकेतहरू देखिएका छन् । हालै विभिन्न तहबाट प्रस्तुत भएका नीतिगत दृष्टिकोण र एजेन्डाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सकारात्मक रूपमा ग्रहण गरिएको महसुस गरिएको छ । यस्ता पहलहरूले मात्र पनि मुलुकलाई विकासको मार्गमा ठूलो फड्को मार्न सहयोग पुग्न सक्छ । यसका लागि निजी क्षेत्र पूर्ण रूपमा तयार छ । नेपालमा लगानीयोग्य पूँजी अर्थात् तरलताको अभाव छैन । काम गर्न चाहने जनशक्तिको पनि कमी छैन । अझ महत्वपूर्ण कुरा, हाल मुलुकमा देखिएको सकारात्मक परिवर्तनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आशाको वातावरण सिर्जना गरेको छ । ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू नेपालमा आएर लगानी गर्ने र नयाँ परियोजनाहरू अघि बढाउने चासो देखाइरहेका छन् । हामी दैनिक रूपमा त्यस्ता सकारात्मक विकासक्रमहरू देखिरहेका छौँ । अब आवश्यक कुरा भनेको ती योजना, सोच र प्रतिबद्धताहरूलाई तीव्र गतिमा कार्यान्वयनमा लैजानु हो । कार्यान्वयनको गति बढाउन सकियो भने मुलुकले अपेक्षित आर्थिक रूपान्तरण हासिल गर्न सक्छ ।’
निजी क्षेत्र लगानीका लागि पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै उहाँले नेपालमा लगानीयोग्य पूँजी र जनशक्तिको अभाव नरहेको बताउनु भयो । मुलुकमा आएको सकारात्मक परिवर्तनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आशा जगाएको र ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू नेपालमा लगानी तथा नयाँ परियोजना अघि बढाउन इच्छुक देखिएको उहाँले बताउनु भयो ।–न्युज एजेन्सी नेपाल