दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ

.

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्ड मात्रै नभइ मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानविन गर्नुपर्ने बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको छानबिन गर्ने प्रतिवद्धता जनाएको उल्लेख गर्दै उहाँले उक्त घटनाको छानबिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा हुनुपर्ने बताउनु भयो । अध्यक्ष घिसिङले मदन भण्डारीको मृत्यु प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न र पूर्वप्रधानमन्त्री सुशील कोईरालाको मृत्युबारे उठेका शङ्काको समेत अनुसन्धान गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले राजनीतिक व्यक्तित्वसँग सम्बन्धित घटनाहरूका साथै अन्य घटनाहरुको पनि निष्पक्ष छानविन आवश्यक रहेको बताउनु भयो । निर्मला पन्त हत्या प्रकरणको दोषी अझै पहिचान हुन नसकेको भन्दै उहाँले सरकारले वास्तविकता सार्वजनिक गर्नुपर्ने बताउनुभयो । साथै उहाँले टिकापुर घटनापछि गठन भएको लाल आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसंग आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हिजो मात्रै नयाँ र पुनर्नियुक्त भएका गृहमन्त्री दुई तीनवटा विषय मध्येमा एउटा विषय राख्नुभयो– राजदरबार हत्याकाण्डको छानबिन गर्छौँ । त्यसको हामी स्वागत गर्छौं । यो छानबिन एकदमै सजिलो हिसाबले यहाँका केही मान्छेहरूलाई राखेर अझ त्यसलाई छुट दिने हिसाबले छानबिन गरियो भने यसको कुनै अर्थ छैन । हामीले सुनेका छौँ, यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरू शक्ति केन्द्रहरूको पनि यहाँ भूमिका छ । तसर्थ अब अन्तर्राष्ट्रिय विज्ञहरूलाई पनि राखेर छानबिन होस् । किन यो दरबार हत्याकाण्ड मात्रै ? मदन भण्डारी हत्याको पनि छानबिन होस् । किन नगर्ने ? पटक पटक राष्ट्रपति भएको छ, पटक पटक प्रधानमन्त्री भएको छ। त्यही पार्टीको, किन अहिलेसम्म छानबिन हुँदैन ? त्यो हत्या भनेर पटक पटक भनेको छ, त्यसको सही उत्तर किन आउँदैन ? त्यो पनि छानबिन होस् । त्यस्तै गरेर सुशील कोइरालाको मृत्यु पनि शङ्कास्पद हो भनेर आएको हो, उहाँको पनि छानबिन होस् । राजनीतिक व्यक्तित्वहरूको राष्ट्रिय अन्तर्राष्ट्रिय कुराहरूले गर्दाखेरि विभिन्न कुराहरू हामीले सुनेका छौँ, त्यसको पनि सही छानबिन होस् । राजनीतिक व्यक्तित्वको मात्रै छानबिन होइन, निर्मला हत्याकाण्ड अहिलेसम्म छानबिन भएर त्यसको बाहिर ल्याउन सकिएको छैन, अब उहाँहरूले ल्याउनुप¥यो, निर्मला हत्याकाण्डको । टिकापुर विद्रोह जुन भएको थियो, टिकापुर विद्रोहको एउटा छानबिन आयोग बन्यो, लाल आयोग । त्यसको रिपोर्ट अहिलेसम्म सार्वजनिक भएन, सार्वजनिक गरियोस् ।’
अध्यक्ष घिसिङले सहकारी ठगी प्रकरणको पनि निष्पक्ष छानविन गर्नुपर्ने बताउनुभयो । सहकारीसम्बन्धी विभिन्न तहका छानबिन भएपनि पीडितहरूले अहिलेसम्म वचत रकम फिर्ता नपाएको उहाँको भनाई छ । उहाँले पीडितहरुलाई सरकारी कोषबाट नभई ठगीमा संलग्न व्यक्तिहरूबाट रकम असुल गरी फिर्ता गरिनुपर्ने बताउनु भयो । उहाँले सहकारी ठगी प्रकरणमा जोडिएका भनिएका जीबी राईलाई नेपाल ल्याई सार्वजनिक रूपमा आफ्नो धारणा राख्ने वातावरण बनाउनुपर्ने पनि बताउनुभयो । जीबी राईको उपस्थितिले सहकारी क्षेत्रमा भएको अनियमितताको वास्तविकता बाहिर आउनसक्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘सहकारीको विषमा संसदीय छानबिन भयो, अरू विभिन्न किसिमका छानबिन भयो, जनताले त्यत्रो पैसा अहिलेसम्म पाएको छैन । तर अब जनतालाई त्यो पैसा ठगी गर्नेहरूबाट उठाएर दिने हो कि सरकारी ढुकुटीबाट दिने ? सरकारी ढुकुटीबाट यदि दिने हो भने त्यसलाई बहादुरी भन्न सकिदैन । यो चाहीँ हाम्रो आर्थिक रूपले अख्तियारको दुरुपयोग पनि हो । यसरी जान मिल्दैन ।  जो–जो सहकारी ठगीमा संलग्न छन्, सानादेखि ठुलासम्म छन् । मैले कुनै व्यक्ति प्रति इङ्गित गरेको होइन, देश भरिका सानासाना सहकारीमा ठगी भएको छ, त्यो सहकारी ठगीको अहिलेसम्म छानबिन गरेर केही पनि भएको छैन । सहकारी ठगीको तल्लो लेभलको सहकारीको ठगीको छानबिन नै भएको छैन । सहकारी बन्द छ, त्यहाँ सहकारीका व्यक्तित्वहरू अहिले हराएका छन्, छानबिन भएको छैन । साना भन्दा साना सहकारीको पनि छानबिन गरियोस् र त्यहाँबाट चाहिँ गरिब जनताको पैसा फिर्ता गरियोस् । त्यस्तै गरेर जिबी राई, जिबी राई, जिबी राई भनेर कुरा उठ्यो । विभिन्न सरकारहरू आए, विभिन्न गृहमन्त्रीहरू आए, अहिले दुई तिहाइको सरकार आएको छ । अब जिबी राईलाई ल्याएर वास्तविकता के हो ? जिबी राईलाई पनि ल्याएर वास्तविकता खोल्न दिनुपर्यो । उहाँलाई ल्याउन सक्नुप¥यो । अब जिबी राईलाई ल्याउन कसैले रोकेको छ, जस्तो मलाई लाग्दैन । किन आउँदैन जिबी राई ? जिबी राई पनि आउनुपर्यो, ल्याउनु पर्यो । सहकारीमा कुन कुन तहबाट जनतालाई अन्याय भयो, त्यो कुरा खुलस्त रुपमा आउनुपर्छ ।’
उहाँले प्रधानमन्त्री बालेन्द्र साहले दिएको सीमासम्बन्धी अभिव्यक्ति पनि आपत्तिजनक भएको बताउनु भयो । संवेदनशील विषयमा जथाभावी बोल्न नहुने उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल