राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले विगतका राजनीतिक दलका अनुभवबाट सिकेर पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा नआउने दाबी गर्नुभएको हो । उहाँले पार्टीभित्र त्याग र बलिदानको विषयमा असमान बुझाइ हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो ।सभापति लामिछानेले कतिपय अवस्थामा अरूले गरेको त्याग र बलिदानलाई सहज रूपमा स्वीकार गर्ने तर आफूले त्याग गर्नुपर्दा कठिन महशुस गर्ने देखिन थालेको पनि बताउनु भयो । उहाँले रास्वपाको पहिलो महाधिवेशन पार्टीभित्र रहेका असमझदारी र मनमुटाव अन्त्य गर्ने अवसर बन्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यतिबेला हामीले गुट उपगुटतिर नलागेर विगतका राजनीतिक दलका अनुभवहरुलाई हेरेर अगाडि बढ्ने हो भने रास्वपालाई लडाउने शक्ति अबको युगमा कोही पनि आउन सक्दैन । तर साथि हो कहिले काँही के हुँदो रहेछ भने त्याग र बलिदान भनेको अरुले गर्यो भने खुशी मान्ने आफूले ग¥यो भने दुःख मान्ने कुरा हुने रहेछ । यसबाट सचेत रहनको लागि म अनुरोध गर्न चाहान्छु । यो ऐतिहासिक महाधिवेशनले हामी बीचमा पनि केही बैमनश्यता रहेछन् भने त्यसलाई अन्त्य गर्ने बिन्दु बनोस् भन्ने म चाहाना राख्न चाहन्छु ।’
उहाँले महाधिवेशनले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउने विश्वास पनि व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल