महिलाहरुका लागि सवारी चालक तालिम शुरु गरिएको छ ।
पर्यटकहरुको सवारी चालक चलाउने दक्षता अभिवृद्धि हुनेगरी उनीहरुलाई बिहीवारबाट काठमाडांैको बुढानीलकण्ठमा उक्त तालिम दिन शुरु गरिएको हो । पर्यटन क्षेत्रको सेवालाई गुणस्तरीय बनाउनका लागि महिलालाई पनि पर्यटकीय सवारी चालक बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना संयोजक केवी शाहले बताउनु भयो । उहाँले नेपालको पर्यटन क्षेत्रमा गुणस्तरीय सेवा दिनका लागि महिलाहरुको योगदान महत्वपूर्ण हुनेमा आफूहरु आशावादी रहेको पनि बताउनु भयो ।
परियोजना संयोजक शाहले भन्नुभयो,‘यहाँ महिलाहरुलाई सवारी चालक तालिम दिनका लागि कार्यक्रम उद्घाटन गरेका छौ । यसमा ३८ जना महिलाहरु देशको विभिन्न भागबाट सहभागी हुन आउनुभएको छ । उहाँहरुलाई भोलीको दिनमा पर्यटकीय गाडीहरु चलाउने जव ग्यारेन्टीसहित यो तालिम संचालन गर्दैछौँ । यो दिगो पर्यटन परियोजनाको मुख्य उद्देश्य भनेको पर्यटकीय गतिविधिहरुको विस्तार गर्ने, नयाँ ठाउँहरुमा ट्रेकिङ रुटहरुको विस्तार गर्ने ३ वटा ठाउँहरु हामीले विस्तार गरेका छौँ । पश्चिममा अपि, साईपाल, मध्यमा मनास्लु एरिया र पूर्वमा कञ्चनजंगा एरिया । यहाँ पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने तालिम दिने काम त हामीले गरिरहेका छौँ । त्यसको अलवा पर्यटन क्षेत्रमा चाहिने सर्भिस सेक्टर जस्तै होटल, रेष्टरेन्ट, ड्राईभिङ । यी सेक्टरहरुमा दक्ष जनशक्ति तयार गर्ने । त्यसमा पनि महिलाहरुलाई कसरी सहभागी गराउन सकिन्छ ? भन्ने हिसावले हामीले महिलाहरुका लागि रोजगारीको तालिम संचालन गरेका हौँ । उहाँहरुले लाईसेन्स प्राप्त गरिसकेपछि पर्यटकीय वाहनहरु चलाउनु हुनेछ । र, पर्यटकहरुलाई गुणस्तरीय सेवा दिनुहुनेछ भन्ने आशा राखेका छौ ।’
यसैबीच तालिममा सहभागी प्रशिक्षार्थीहरुले सवारी चालक तालिममा सहभागी हुन पाएको खुशी व्यक्त गरेका छन् । भक्तपुरबाट सहभागी हुनुभएकी जुनु शाहले उक्त तालिमले आफूहरुलाई दक्ष बनाउने विश्वास व्यक्त गर्दै आयोजक संस्थाहरु प्रति आभार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,‘चालक र सहचालक क्षेत्रमा चाहना र रुचि भएको व्यक्ति हुँ म । र मैले धेरै पटक लाईसेन्स लिनका लागि प्रयास पनि गरेको हो । त्यसमा असफल भए म । यस पटक म आफूलाई दक्ष बनाउँछु भनेर आएको छु । तालिममा सहभागी हुनु अवसर दिने भएकोमा धन्यवाद दिन चाहन्छु ।’
परियोजनाले नेपाल पर्यटक यातायात व्यवसाय संघसँगको सहकार्यमा उक्त तालिम सञ्चालन गरेको हो । ३० दिनसम्म चल्ने तालिममा देशका विभिन्न भागमा ३८ जना महिलाहरु सहभागी भएका छन् । पर्यटन क्षेत्रको सेवालाई गुणस्तरीय बनाउनका लागि महिलाहरुको दक्षता अभिवृद्धि गर्न उक्त तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरिएको पनि दिगो पर्यटन परियोजनाले जनाएको छ । –न्युज एजेन्सी नेपाल