‘ग्लोवल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रमको शुभारम्भः सीपदेखि उद्यमसम्मको यात्रामा साथ दिने लक्ष्य’

.

ग्लोवल आइएमई बैंकले ‘अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला उद्यम दिवस’ को अवसर पारेर ‘ग्लोबल आइएमई उद्यमशालाः सीपदेखि उद्यमसम्म’ नामक नयाँ अभियानको शुरुवात गरेको छ ।
बैंकले साना व्यवसायी तथा उद्यम गर्न इच्छुक युवा, महिला र विभिन्न समुदायका व्यक्तिहरूलाई लक्षित गर्दै यो ‘इन्क्युबेसन’ कार्यक्रम सार्वजनिक गरेको हो । बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालकाअनुसार यस कार्यक्रमको मुख्य उद्देश्य उद्यमशीलता प्रवद्र्धन र स्वरोजगार सिर्जना गर्नु हो । यो पहल केवल वित्तीय पहुँचमा मात्र सिमित नभई उद्यमीहरूलाई आवश्यक पर्ने ज्ञान, सीप, व्यावसायिक कला र बजारसम्मको पहुँच सुनिश्चित गर्न केन्द्रित रहने बैंकले जनाएको छ । यस कार्यक्रमअन्तर्गत बैंकले आजैबाट आवेदन समेत आह्वान गरेको छ । निश्चित अवधिसम्म प्राप्त हुने आवेदनहरूमध्येबाट छनोटमा परेका व्यक्तिहरूलाई ‘उद्यमशाला’ मार्फत व्यावसायिक अध्ययन, सीप विकास र ज्ञान अभिवृद्धिका विभिन्न क्रियाकलापहरूमा सहभागी गराइनेछ । बैंकले यस नविन शुरुवातबाट उद्यमशीलताको विकासमा सहज सहयोग, सरल वित्तीय पहुँच र व्यावसायिक वातावरण निर्माण हुने विश्वास व्यक्त गरेको छ । कार्यक्रमको घोषणासँगै बैंकका कर्मचारीहरूमा समेत उत्साह थपिएको बैंकले जनाएको छ ।
उहाँले भन्नुभयो, ‘एमएसएमई डे को उपलक्ष्यमा ग्लोवल आइएमई बैंकले आजदेखि ‘ग्लोवल आइएमई उद्यमशाला’ कार्यक्रम ‘सीपदेखि उद्यमसम्म’ भन्ने नारासहित नयाँ पहल शुरु गरेको छ । यो पहल विशेषगरी साना उद्यमी तथा उद्यमी बन्न आकांक्षी युवा, महिला र विभिन्न समुदायका व्यक्तिहरूमा उद्यमशीलताको प्रवद्र्धन गर्न लक्षित छ । साथै, उनीहरूको स्वरोजगार सिर्जनामा सहयोग पु¥याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । एकातिर वित्तीय पहुँच सुनिश्चित गर्ने कार्य बैंकले गरिरहेकै छ भने, अब वित्तीय पहुँचमा मात्र सीमित नभई उद्यमीहरूलाई आवश्यक ज्ञान, सीप, व्यवसायिक दक्षता तथा व्यवसाय विस्तारका लागि बजारसम्म पहुँच पु¥याउने उद्देश्यले ‘उद्यमशाला’ नामक यो इन्क्युबेसन कार्यक्रम शुरु गरिएको हो । यस कार्यक्रममार्फत व्यवसाय गरिरहनुभएका तथा स्वदेशमै केही गर्ने अभिलाषा बोकेर उद्यम शुरु गर्न चाहने व्यक्तिहरूलाई व्यवसायिक सीप विकास गराई सक्षम उद्यमी बनाउने बैंकको मुख्य उद्देश्य रहेको छ । यसले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सकारात्मक योगदान पु¥याउनुका साथै देशभित्रै रोजगारी सिर्जना गर्न र उद्यमीहरूलाई सहज वित्तीय पहुँच तथा व्यवसाय सञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउन महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ । यस कार्यक्रमको औपचारिक सुरुवात आजबाट भएको छ । आजदेखि नै आवेदन (एप्लिकेसन) खुला गरिएको छ र केही दिनसम्म आवेदन सङ्कलन गरिनेछ । आवेदनका लागि विभिन्न माध्यमबाट कार्यक्रमको प्रवद्र्धन पनि गरिनेछ । प्राप्त आवेदनमध्ये छनोट भएका सहभागीहरूलाई उद्यमशालामा समावेश गरी अध्ययन, सीप विकास, ज्ञान अभिवृद्धि तथा व्यवसायिक क्षमता विकासका लागि विभिन्न गतिविधि सञ्चालन गरिनेछन् । आजको दिन यस कार्यक्रमको शुभारम्भ हुन पाउँदा हामी, ग्लोवल आइएमई बैंक मा कार्यरत बैंकर तथा कर्मचारीहरू, अत्यन्त उत्साहित छौँ ।’
बैंकका साना तथा मझौला (एसएमई) एवं रिटेल बैंकिङ विभागमा कार्यरत सुनिल पोखरेलकाअनुसार यो कार्यक्रम विशेष गरी व्यवसाय सञ्चालन गरिरहेका वा नयाँ व्यावसायिक अवधारणा (बिजनेस आइडिया) भएका उद्यमीहरूलाई केन्द्रित गरी ल्याइएको हो । कार्यक्रमको पहिलो चरण काठमाडौं उपत्यका र मधेस प्रदेशमा सञ्चालन गरिने बैंकले जनाएको छ । इच्छुक उद्यमीहरूले बैंकले उपलब्ध गराएको लिङ्कमार्फत आवेदन दिन सक्नेछन् । दर्ता भइसकेका व्यवसाय वा नयाँ सोच मात्र भएका व्यक्तिहरूले पनि आफ्नो व्यावसायिक विवरण, स्थान र सम्पर्क नम्बरसहित फारम भर्नुपर्नेछ । प्राप्त आवेदनहरूमध्येबाट निश्चित मापदण्डका आधारमा स्क्रिनिङ गरी उत्कृष्ट व्यवसायीहरूलाई सर्टलिस्ट गरिने र उनीहरूलाई कार्यक्रममा सहभागी गराइने पोखरेलले जानकारी दिनुभयो । यस कार्यक्रममा कृषि, हस्तकला, पर्यटन तथा वातावरणमैत्री एवं दिगो व्यवसाय (ग्रिन एन्ड सस्टेनेबल बिजनेस) लाई विशेष प्राथमिकता दिइने बैंकको भनाइ छ ।
‘ग्लोवल आइएमई उद्यमशाला’ ले विशेष गरी पिछडिएका र विपन्न वर्गका समुदायबाट सञ्चालित लघु तथा साना उद्यमहरूलाई विशेष प्राथमिकतामा राखेको छ । व्यवसायलाई विस्तार गर्ने सोच भएका तर कानुनी जटिलता, दर्ता प्रक्रिया, दैनिक कार्यसञ्चालन वा बजार व्यवस्थापनमा समस्या भोगिरहेका उद्यमीहरूलाई बैंकले ‘ह्यान्डहोल्डिङ’ (प्रत्यक्ष सहयोग) मार्फत व्यावसायिक इकोसिस्टममा जोड्ने लक्ष्य राखेको छ ।
उहाँले भन्नुभयो, ‘हामीले यो आवेदन (एप्लिकेसन) जुन २७, २०२६ देखि खुला गर्दैछौँ । यो कार्यक्रममा विशेषगरी साना तथा मझौला उद्यमीहरू, जसले आफ्नो व्यवसाय सञ्चालन गरिरहनुभएको छ अथवा व्यवसाय सञ्चालन गर्ने सोच राख्नुभएको छ, वा जससँग व्यवसायिक आइडिया (बिजनेस आइडिया) छ, त्यस्ता उद्यमी तथा नवप्रवर्तनसँग जोडिन चाहने उद्यमी (आन्त्रप्रेनर) हरूका लागि यो कार्यक्रम ल्याएका हौँ । यो कार्यक्रममा आवेदन आह्वान (एप्लिकेसन कल) गरिसकेपछि सहभागीहरूले बुझाउनुभएको आवेदन हामी प्राप्त गर्छौं । त्यसपछि हाम्रो स्क्रिनिङ मापदण्ड (क्राइटेरिया) अनुसार आवेदनहरूको मूल्याङ्कन गरिन्छ। मापदण्ड पूरा गर्ने आवेदकहरूलाई छनोट (सर्टलिस्ट) गरी सम्पर्क (कल) गरेर कार्यक्रममा सहभागी हुन आमन्त्रण गरिनेछ । यो कार्यक्रमको पहिलो चरणमा हामी काठमाडौं उपत्यका र मधेस प्रदेशमा सञ्चालन गर्न लागिरहेका छौँ । त्यसैले काठमाडौं उपत्यका र मधेस प्रदेशका इच्छुक व्यक्तिहरूले आवेदनका लागि उपलब्ध गराइएको लिंकमार्फत आवेदन फाराम भर्न सक्नुहुन्छ । यदि व्यवसाय सञ्चालन गरिरहनुभएको छ भने त्यसको विवरण तथा दर्तासम्बन्धी जानकारी दिनुपर्नेछ । यदि व्यवसाय दर्ता भएको छैन भने आफ्नो व्यवसायिक अवधारणा (आइडिया) को विस्तृत विवरण उपलब्ध गराउनुपर्नेछ । त्यसपछि तपाईंको सम्पर्क नम्बर, इमेल ठेगाना, व्यवसायको स्थान तथा व्यवसायसम्बन्धी आधारभुत विवरणका आधारमा हामी तपाईंको व्यवसायिक अवधारणा, त्यसले समाधान गर्न खोजेको समस्या तथा सम्भावनाको मूल्याङ्कन गर्नेछौँ । त्यसपछि तपाईंलाई सम्पर्क गरेर यो कार्यक्रममा सहभागी गराइनेछ । यो कार्यक्रममा विशेषगरी कृषि तथा गैरकृषि क्षेत्रअन्तर्गत हस्तकला, पर्यटन तथा हरित एवं दिगो व्यवसाय (ग्रीन एण्ड सस्टेनेबल बिजनेस) लाई प्राथमिकतामा राखिएको छ । साथै, लघु, साना तथा मझौला उद्यम (एमएसएमई) सञ्चालन गरिरहनुभएका, विशेषगरी वञ्चित (डिप्राइभ्ड) वर्ग तथा समुदायबाट आउनुभएका उद्यमीहरूका लागि यो कार्यक्रम विशेष रूपमा लक्षित गरिएको छ । त्यसैले त्यस्ता वर्ग तथा समुदायका उद्यमीहरूलाई यस कार्यक्रमको अवसरको लाभ लिन म विशेष आग्रह गर्दछु । त्यसैगरी, सानो व्यवसायलाई अझ ठूलो बनाउने सोच राख्नुभएका उद्यमीहरू, बजार विस्तार, कानूनी प्रक्रिया, व्यवसाय दर्ता, व्यवसाय विस्तार वा दैनिक सञ्चालनका क्रममा विभिन्न चुनौतीहरू सामना गरिरहनुभएका उद्यमीहरूलाई पनि यो कार्यक्रमले आवश्यक सहजीकरण र ‘ह्यान्डहोल्डिङ’ अर्थात चरणबद्ध साथ र मार्गदर्शन प्रदान गर्नेछ । उहाँहरूलाई व्यवसायिक इकोसिस्टमसँग जोड्ने, आवश्यक साझेदारसँग कनेक्ट गराउने तथा व्यवसायलाई दिगो रूपमा अघि बढाउन सहयोग गर्ने हाम्रो उद्देश्य रहेको छ । ग्लोवल आइएमई उद्यमशाला यहाँहरूकै लागि हो । कृपया आवेदन फाराम भरेर यस कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ ।’
साना व्यवसायलाई ठूलो बनाउने लक्ष्य राखेका उद्यमीहरूलाई यस कार्यक्रमबाट अधिकतम लाभ लिन बैंकले आग्रह गरेको छ । सम्बन्धित क्षेत्रका उद्यमीहरूले तोकिएको समयभित्रै आवेदन फारम भरी यस अवसरको सदुपयोग गर्न सक्नेछन् । –न्युज एजेन्सी नेपाल