लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले राष्ट्रिय धान दिवस एवं इन्द्रेणी रोपाई जात्रा मनाएका छन् ।
सोमवार धान दिवसको अवसरमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले इन्द्रेणी रोपाई जात्रा मनाएका हुन् । अभियन्ता एवं संविधान सभा सदस्य सुनिलबाबु पन्तले तेस्रो रोपाई जात्रा भएको बताउनुभयो । उहाँले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हक अधिकारको रक्षा र आफूभित्रको लैंगिक उर्जा बढाउनको लागि इन्द्रेणी रोपाई जात्रा मनाउने गरेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय समुदायको संस्कृति भित्रिनेमा आफूहरु चिन्तित रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो चाहीँ हाम्रो तेस्रो रोपाइँ जात्रा हो । २०६२÷६३ को आन्दोलनपछि म आइसकेपछि हामीले गाई जात्रा समेत मनाइराखेका छौँ । हामीले परम्परादेखि मनाइरहेको संस्कृतिको संरक्षण गर्न तथा विदेशी परम्परा आयात हुन नदिनको लागि पनि हामीले विभिन्न पर्वहरु आफ्नै शैलीमा मनाउँदै आएका छौँ । हामीले हकअधिकार र आफ्नो पहिचानको कुरा गर्दाखेरी उतैको मात्रै हेर्नुपर्छ भन्ने छैन । हामीसँग भएका कयौँ चाँडमार्फत हामीभित्र रहेको लैंगिक उर्जालाई बाहिर ल्याउनुपर्छ ।’
पहिला देखि पुरुषहरूले महिलाको भेष गर्ने भएकाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसँग जोडिएको पर्व हो । यो समुदायका व्यक्तिहरूलाई परापुर्वकालमा विशेष प्रतिष्ठित पेशाहरूमा सहभागी गराइने चलन रहेको पाइन्छ । –न्युज एजेन्सी नेपाल