नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार आफ्नो १०० बुँदे प्रतिवद्धता पूरा गर्न पूर्ण रूपमा असफल भएको बताउनुभएको छ ।
शािवार ललितपुरमा आयोजित ‘मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारको १०० दिने कार्यकालले मुलुकलाई सही दिशा दिन नसकेको टिप्पणी गर्नुभएको हो । महासचिव पोखरेलले लोकप्रियतावाद र सामाजिक सञ्जालको सहारामा आर्जन गरिएको जनसमर्थन क्षणिक हुने तर्क गर्नुभयो । पपुलिजमले जनताको भावना दोहन गरे पनि राष्ट्रिय राजनीतिका चुनौतीहरूलाई सम्बोधन गर्न र विधिको शासन स्थापित गर्न नसक्ने उहाँको भनाइ छ । सरकारको कामकारबाहीको आलोचना गर्दै उहाँले मुलुक विधिको शासनबाट विचलित भएको र संविधान तथा लोकतन्त्रको भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको आरोप लगाउनु भयो । सरकार पपुलिजमको आडमा स्वेच्छाचारी र अधिनायकवादी शासनतर्फ उन्मुख भएको दाबी गर्दै उहाँले यसका विरुद्ध जनतालाई सुसूचित गर्न एमालेले ‘मिसन पार्टी जागरण’ अभियान शुरु गरेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘यतिबेला हामी इतिहासकै एउटा जटिल मोडमा उभिएका छौँ । भदौ २३ र २४ गतेका विभत्सकारी घटनाहरू, त्यसको जगमा सम्पन्न भएको २०८२ सालको आम निर्वाचन र उक्त निर्वाचनमार्फत जनताको लोकप्रिय जनादेश प्राप्त गरेर गठन भएको सरकारले १०० दिन पूरा गरेको सन्दर्भमा आज हामी यहाँ उपस्थित भएका छौँ । स्वाभाविक रूपमा हाम्रो पार्टीले भन्दै आएको थियो । पपुलिजमले जनताको भावनाको दोहन गर्न त सक्छ तर जनताका अपेक्षा, राष्ट्रिय राजनीतिका चुनौतीहरूको सम्बोधन र समाधान गर्न तथा मुलुकलाई सही दिशा प्रदान गर्न सफल हुन सक्दैन । पपुलिजम र सामाजिक सञ्जालमार्फत सिर्जना गरिएको एल्गोरिदमको माध्यमबाट आर्जन गरिएको समर्थन क्षणिक समयको पाहुना मात्र हुनसक्छ । यदि त्यसले सुशासन र विधिको शासनलाई आत्मसात गर्न सकेन भने, त्यो समर्थन छोटो समयको पाहुना मात्र हुन्छ भन्नेकुरा हामीले निरन्तर भन्दै आएका थियौँ । आज सरकारका काम, कारबाही र गतिविधिहरू तथा विशेष गरी सरकारले सार्वजनिक गरेको १०० बुँदे प्रतिवद्धतालाई आधार मानेर विश्लेषण गर्ने हो भने, सरकार आफ्ना प्रतिवद्धताहरू पूरा गर्न पूर्णतः असफल भएको छ । मुलुक विधिको शासनबाट विचलित भएको छ, र यतिबेला संविधान तथा लोकतन्त्रको भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको छ । पपुलिजमको आडमा मुलुकलाई स्वेच्छाचारी तथा अधिनायकवादी शासनतर्फ लैजाने प्रयास भइरहेको यस अवस्थामा हामी जनताका बीचमा जाने योजना र उद्देश्यका साथ ‘मिसन पार्टी जागरण’ लिएर तपाईंहरूका बीचमा आएका छौँ ।’
महासचिव पोखरेलले २०८२ सालको आम निर्वाचनपछि जनमत पाएर गठन भएको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै एमालेले अब जनताका बीचमा जाने योजनाका साथ यो अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल