सार्वजनिक खरिद विधेयकमाथि राष्ट्रिय सभामा छलफलः ठेक्का प्रक्रियाका विकृति अन्त्य हुने सांसदहरूको विश्वास

.

राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद युवराज शर्माले सार्वजनिक खरिद प्रक्रियालाई समयसापेक्ष बनाउन सार्वजनिक खरिद विधेयक महत्वपूर्ण हुने बताउनुभएको छ ।
राष्ट्रिय सभामा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले शुक्रवारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक प्रश्तुत गर्नुभएको हो । उक्त विधेयकको छलफलमा सहभागी हुँदै उहाँले ठेक्का प्रक्रियामा व्याप्त अनियमितता, कमिसनखोरी र ढिलासुस्तीलाई निरुत्साहित गर्दै पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्न विधेयकले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
सांसद शर्माले भन्नुभयो, ‘न्युनतम बोलकबोल गर्ने तर काम नगर्ने प्रवृत्तिलाई यसले निरुत्साहित गर्न खोजेको छ । यद्यपि, विधेयकमा रहेका कतिपय छिद्रहरूलाई बेलैमा सम्बोधन गर्न आवश्यक छ, त्यसैले यसलाई विधान व्यवस्थापन समितिमा लगेर व्यापक छलफल गरिनुपर्छ ।’
उहाँले सरकारलाई दुई तिहाइको बहुमत हुँदाहुँदै अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति त्यागी विधिको शासन र संसदीय प्रक्रियालाई सम्मान गर्न समेत आग्रह गर्नुभयो ।
राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता प्रेमप्रसाद दंगालले विगतमा गरिएका संशोधनहरूले खरिद प्रक्रियाका समस्या पूर्ण रूपमा समाधान गर्न नसकेको स्मरण गराउनु भयो । उहाँले विशेषगरी औषधि र रासायनिक मल जस्ता संवेदनशील वस्तुको खरिदमा अन्तर्राष्ट्रिय मूल्यको उतारचढावका कारण देखिने समस्या र ठेक्का ‘बेच्ने’ प्रवृत्तिलाई रोक्न यो विधेयक प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अत्यन्त न्युन मूल्यमा ठेक्का लिएर कमसल काम गर्ने परिपाटी आम समस्याको रूपमा रहेको छ । यो विधेयकले कृत्रिम प्याकेजिङ रोक्न र ठेक्का बेच्ने प्रवृत्तिलाई निरुत्साहित गर्न केही हदसम्म सहयोग पुग्ने देखिन्छ ।’
राष्ट्रिय सभामा प्रश्तुत यो विधेयकले सार्वजनिक निकायका खरिद प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ । न्–युज एजेन्सी नेपाल