ऋणको आकारभन्दा उत्पादनमूलक उपयोग र जिडिपीसँगको अनुपात महत्वपूर्णः अर्थमन्त्री डा. वाग्ले

.

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय ऋणको विषयलाई अङ्कमा मात्र नहेरी अर्थतन्त्रको कुल आकार (जिडिपी) सँगको तुलनामा वस्तुनिष्ठ ढङ्गले विश्लेषण गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय ऋण उठाउने विधेयक, २०८४’ माथि राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले यस्तो धारणा राख्नुभएको हो । अर्थमन्त्री वाग्लेले राष्ट्रिय ऋण दशकौँदेखि सञ्चित हुँदै आएको ‘स्टक’ भएको उल्लेख गर्दै यसलाई वार्षिक आम्दानी वा उत्पादन (जिडिपी) सँग तुलना गरेर मात्रै यसको भार मापन गर्न सकिने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘३० खर्ब वा ५० खर्ब भन्नु आफैँमा अर्थहीन हुन्छ । ऋणको भार कति छ भन्ने कुरा बेन्चमार्कका रूपमा जिडिपीलाई लिएर मात्रै यकिन गर्न सकिन्छ ।’
मन्त्री वाग्लेकाअनुसार हाल नेपालको ऋण र जिडिपीको अनुपात करिव ४४ प्रतिशत रहेको छ । आगामी वर्ष ऋण ३६ खर्ब पुग्ने अनुमान गरिए पनि सोही अनुपातमा जिडिपी पनि वृद्धि भए ऋणको भार नबढ्ने उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, ‘यदि हामीले जिडिपी ७४ खर्ब ६० अर्ब पु¥याउन सक्यौँ भने अहिलेको ऋणको अनुपात स्थिर रहन्छ वा घट्न पनि सक्छ ।’
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई ऋणको जोखिमका दृष्टिले ‘न्युन दबाब’ भएको मुलुकको सूचीमा राखेको जानकारी दिँदै उहाँले प्रतिव्यक्ति ऋणको हिसाव गरेर जनतामा भ्रम फैलाउनु गलत भएको टिप्पणी गर्नुभयो ।
ऋण लिएर घिउ खाने नभई उत्पादनमूलक गतिविधिमा परिचालन गर्नुपर्नेमा अर्थमन्त्रीले जोड दिनुभयो । सडक, जलविद्युत आयोजना, प्रसारण लाइन र सुक्खा बन्दरगाह जस्ता पूर्वाधारमा लिइएको ऋणले दीर्घकालमा उच्च प्रतिफल दिने र त्यस्तो ऋणले आफ्नै भार आफैँ धान्नसक्ने उहाँको भनाइ छ ।
नेपालको अनिवार्य दायित्व करिव १४ खर्ब रहेको र राजश्व सङ्कलन १२ खर्बको हाराहारीमा मात्रै भएकाले विकास निर्माणका लागि ऋण लिनु अनिवार्य रहेको मन्त्री वाग्लेले बताउनु भयो । हाल विश्व बैंक र एशियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण (१ देखि १.५ प्रतिशत ब्याजदरमा) प्राप्त भइरहे पनि आगामी ३ देखि ५ वर्षमा यस्तो सहुलियतको झ्याल साँगुरिँदै जाने उहाँले सचेत गराउनु भयो । आगामी दिनमा ऋणका शर्तहरू महँगो हुँदै जाने र ब्याजदर समेत बढ्ने आकलन गर्दै उहाँले अब स्रोतको खोजी र परिचालन थप चुनौतीपूर्ण हुने बताउनु भयो । मन्त्री वाग्लेले परियोजनाको छनोट गर्दा त्यसको प्रतिफल र गुणस्तरलाई मुख्य आधार बनाउनुपर्नेमा समेत जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल