निर्वाचन आयोगले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको बिदाइ गरेको छ ।
बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भण्डारीले आयोगको गरिमा अभिवृद्धि गर्न खेल्नुभएको भुमिकाप्रति आभार एवं कृतज्ञता व्यक्त गर्नुभयो । प्रवक्ता भट्टराईले उहाँलाई एक मृदुभाषी, कानूनविद् र कठिन परिस्थितिमा मार्गनिर्देशन गर्ने अभिभावकका रूपमा चित्रण गर्नुभयो । राष्ट्रलाई संकट परेका विभिन्न परीक्षाहरूमा उहाँले आफ्नो योगदानमार्फत आफूलाई एक अब्बल नेतृत्वका रूपमा स्थापित गरिसक्नुभएको भट्टराईको भनाइ छ । आयोगमा आउनुअघि नै वरिष्ठ अधिवक्ताका रूपमा स्थापित व्यक्तित्व बनाउनुभएका उहाँको कार्यक्षमतामा आयोगको अनुभवले थप निखार ल्याएको प्रवक्ता भट्टराईको भनाइ छ । कार्यकालका दौरान प्राप्त अनुभव र दक्षता आगामी दिनमा थप सफलताका लागि महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्दै भट्टराईले उहाँको सुखद्, स्वस्थ र सक्रिय भविष्यको कामना समेत गर्नुभयो ।
प्रवक्ता भट्टराईले भन्नुभयो,‘मान्यज्युले यो आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको रुपमा खेल्नुभएको भुमिकाका लागि हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दै उहाँको आगामी जीवन स्वस्थ, व्यस्त र थप क्रियाशिल होस् । बिदाई कसैका लागि पनि त्यति प्रिय कुरा हुँदैन । हामीले एक जना मृदुभाषी, कानूनव्यक्ता, सबैलाई अफ्ठ्यारोमा पथ प्रदर्शन गर्ने एक जना अभिभावकलाई हाम्रो नियमित भेट हुने दिनचर्याबाट उहाँलाई बिदा गर्दैछौँ । त्यसअर्थमा हाम्रा लागि केही असहज दिन पनि छ । तर हामी खुशी यस अर्थमा छौँ, मान्यज्यु यहाँ आउनुअघि एक स्थापित वरिष्ठ अभिवक्ता हुनुहुन्थ्यो । आयोगको काम गराईबाट उहाँको व्यक्तित्वमा थप निखार आएको छ । उहाँले थुप्रै परीक्षा राष्ट्रलाई संकट परेकै बेलामा आफ्नो योगदान गरेर एउटा अब्बल नेतृत्वका रुपमा स्थापित गरिसक्नुभएको छ । यो अनुभवले आगामी दिन थप सफल हुनका लागि महत्वपूर्ण आधार प्रदान गरेको छ ।’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले २०८२ साल भदौको जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सम्हाल्नै राष्ट्रपति रामचन्द्र पौडेलबाट तोकिएको फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने कामको नेतृत्व गर्नुभएको थियो । निर्वाचन हुने वा नहुने अनिश्चितताको समयमा सही निर्णय र सही बाटोबाट राजनीतिक दल, जेन–जी पुस्तालाई निर्वाचनमा सहभागी गराउने भुमिका खेल्नुभएको थियो ।– न्युज एजेन्सी नेपाल