चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त भण्डारी

.

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानून चालु अधिवेशनभित्रै पारित हुन नसके आगामी निर्वान हुन कठिन रहेको बताउनुभएको छ ।
सोमवार निर्वाचन आयोगमा आयोजित बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बजेट अधिवेशनमा एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन रहेको बताउनुभएको हो । बजेट अधिवेशनभित्रै कानून बन्न नसके आगामी दिनमा निर्वाचन झनै पेचिलो बन्ने उहाँको भनाइ छ । नयाँ निर्वाचन कानून ल्याएर इ-भोटिङ लगायतका मागहरु सम्बोधन गर्न सकिने उहाँले बताउनु भयो । उहाँले आफू निर्वाचन आयोगमा हुँदा आयोगलाई कानूनी रूपमा स्पष्ट र दर्बिलो बनाउने काम गरेको जिकिर गर्नुभयो । आफ्नो कार्यकालमा एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार पारेर सम्बन्धित मन्त्रालयमा पेश गरेको भएपनि पेश गरेको तीन वर्षभन्दा बढी हुँदा समेत संसदम पेश हुन नसकेको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आफ्नो भुमिका निर्वाह गर्न आयोगलाई कानूनी रूपमा स्पष्ट र दर्बिलो बनाउने कार्य गर्न आग्रह गरियो, सोही अनुरूप म कानूनी क्षेत्रमा अलि बल गरेर कार्य सम्पादन गर्ने प्रयास गरेँे । मेरो कार्यकालमा एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार पारेर सम्बन्धित मन्त्रालयमा पेश गरिएको छ । यो पेश गरेको पनि तीन वर्षभन्दा लामो भइसकेको छ, जुन संसदमा अझै पेश हुन सकेको छैन । आयोगको सूचना प्रविधिलाई अपग्रेड गरेर समयानुकूल बनाउने योजना अघि बढाउन सकिएको छैन, जुन कार्यलाई पनि मैले उच्च प्राथमिकता साथ राख्नुपर्छ भनेर पटकपटक भनिरहेको विषय हो । आयोगको अत्याधुनिक भवन निर्माण, आयोगको जग्गाको सदुपयोग आदि कार्यको सुन्दर योजना भएपनि ती विविध कारणले पूरा हुन सकिरहेका छैनन् । नेपालको संविधानले तोकेको आयोगको काम कर्तव्य र अधिकार कार्यान्वयन गराउन आयुक्तको भुमिकामा रहेर कार्यप्रति न्याय गर्न सकेको मैले महशुस गरेको छु । अहिलेको यो बजेट अधिवेशनमा कानून आएन भनेदेखि अर्को वर्ष हुने निर्वाचन झन् पेचिलो हुन्छ, झन् गाह्रो हुन्छ, झन् अप्ठ्यारो हुन्छ र त्यो निर्वाचन नहुन पनि सक्छ । त्यसो भएको हुनाले यहाँहरू साथीहरूले पनि जुनजुन तह र तप्काबाट हुनुहुन्छ, नयाँ निर्वाचन कानून ल्याएर अब अहिलेको विषयवस्तुहरूलाई समेट्ने नयाँ आउने मान्छेहरूको मागलाई इ–भोटिङ, आइ–भोटिङ के के भोटिङ भन्छन्, ती सबै विषयवस्तुहरू समेटेर कानून आउन सकेन भने निर्वाचन अप्ठ्यारो हुन्छ । अब आजसम्मको भन्दा पनि यो भन्दा अगाडिको गन्तव्य अझ पेचिलो छ मैले बुझेको । त्यो पेचिलो किन छ भनेदेखि कतिपय बुझेको पात्र हुनुहुन्छ, कतिपय नबुझेको पात्र हुनुहुन्छ, कतिपय बढी बुझेको पात्र हुनुहुन्छ । त्यो सबै कुनै न कुनै दलमा आवद्ध हुनुहुन्छ, ती सबैको संयोजन मिलाएर निर्वाचन सम्पन्न गर्नुपर्नेछ । सायद नयाँ पदाधिकारी पनि सरकारले सिफारिस गरिसकेको छ ।’
अबको निर्वाचनको आयोगको गन्तव्य अझै पेचिलो रहेको बताउँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सबैलाई मिलाएर लैजानसक्ने नेतृत्व आयोगलाई आवश्यक रहेको बताउनु भयो । भण्डारी ६५ वर्षे उमेरहदका कारण मंगलवारबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । –न्युज एजेन्सी नेपाल