काठमाडौंका सुकुम्वासीहरूलाई स्थानान्तरण गरी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरूको बिचल्ली भएको छ ।
१५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने सरकारी प्रतिवद्धता तीन महिना बितिसक्दा पनि पूरा नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका हुन् । मध्यरात करिव १२ः४० बजेबाट सेन्टरमा बाढी पस्न शुरु गरेको थियो । अचानक बाढी पसेपछि त्यहाँ रहेका बालबालिका, वृद्धवृद्धा र बिरामीहरू थप जोखिममा परेका छन् । पीडित दलमर्दन कामीले खाजा भनेर एउटा मिठाइ दिने काम मात्रै गरेको आरोप लगाउनु भयो । आफैँ बसेको स्थानमा जान पनि पीडितहरुलाई नदिइएको गुनासो गर्नुभयो । बाढीले रातभर सुत्न नदिइएको बताउँदै आफूहरुलाई अब मर्नुको विकल्प नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो खालको बर्बरता कहिलेसम्म ? हामी अब मर्ने बेला भइसक्यो, सेरिने बेला भइसक्यो, हाम फाल्ने बेला भइसक्यो नदीमा । निमोनिय, मिर्गौलाका रोगी आमा, दिदिबहिनीहरु हुनुहुन्छ । आफन्तहरुलाई भेट्न दिइरहेको छैन ।’
स्थानीय पीडित कान्छीमाया घलानकाअनुसार सुतिरहेको अवस्थामा अचानक पानी पसेपछि लुगाफाटो र खाद्यान्न जोगाउन समेत मुस्किल भएको थियो । बाढीका कारण धेरैजसोको ओढ्ने–ओछ्याउने र दैनिक उपभोग्य सामग्रीहरू पूर्ण रूपमा भिजेर नष्ट भएका छन् । उहाँले बाढी पसेपछि छाता र हातमा भएको मोबाइल बाहेक अरु सामान उठाउन नसकेको बताउनु भयो । तीन बजेमात्रै सुरक्षाकर्मीहरु उद्धारका लागि सेन्टरमा आएको उहाँले बताउनु भयो । १५ दिनका लागि भनेर आफ्नो घर भत्काएर ल्याएको बताउँदै उहाँले
उहाँले भन्नुभयो, हामीलाई पनि जिउने इच्छा छ, हाम्रा पनि बालबच्चा छन्, हाम्रो ठाउँमा त्योृ सरकार भइदिएको भए थाहा हुन्थ्यो । सरकारले हाम्रो समस्या बुझेन । हामी कुकुर, बिरोलो होइन । हामी कसैको लालपूर्जा भएको जग्गा मिचेर घर बनाएर बसेका थिएनौँ ।’
अर्की एक पीडितले १५ दिनका लागि भनेर ल्याउने र उचित व्यवस्थापन नगरेको भन्दै सरकारले के गर्न खाजेको भन्दै प्रश्न गर्नुभयो । सरकारमा भएका मानिसहरु पनि एक दिन मर्नुपर्छ भनेर हेक्का राख्न चेतावनी दिनुभयो । सरकारले आफूहरुमाथि अत्याचार गरेको उहाँको गुनासो छ । अर्की एक पीडितले सरकारले यहाँ पानी पस्छ र सुकुम्बासी आफैँ भागेर जान्छन् भन्ने मनशायले ल्याएको आरोप लगाउनु भयो । सरकारले व्यवस्थापन गरेको भए अहिलेको अवस्था नहुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘यो सरकारले गर्दा हाम्रो जीवन नै बर्बाद हुने भयो । सरकारमा भएकाहरु पनि एक दिन मर्नुपर्छ भन्ने हेक्का सरकारले राखोस् । हामीलाई ढाँटीढाँटी किन यस्तो गरेको ?’
अर्का पीडित डम्बर तामाङले बाढीले आफ्नो करिव एक लाख बराबरको धनमाल क्षति भएको जानकारी दिनुभयो । चप्पल नभएकाले बालबच्चाहरु खालि खुट्टै हिँड्नुपरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सामान निकाल्न समेत पाइएन, सबै हिलोले पुरियो । सुरक्षाकर्मीहरू उद्धारका लागि समयमा आइपुगेनन्, हामी आफैँले ज्यान जोगायौँ ।’
सेन्टरमा मुटु रोगी, मिर्गौलाका बिरामी र दमका रोगीहरू समेत रहेकाले चिसो र ओसिलो वातावरणका कारण उनीहरूको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । बस्तीका बासिन्दाहरूले सरकारले आफूहरूलाई आश्वासन दिएर अलपत्र पारेको आरोप लगाएका छन् । उनीहरूकाअनुसार १५ दिनको लागि भनेर ल्याइएको भएपनि तीन महिनासम्म कुनै ठोस व्यवस्थापन गरिएको छैन । सुरक्षाकर्मीहरूले समेत आफूहरूलाई बाहिर निस्कन अवरोध गरेको र अमानवीय व्यवहार देखाएको उनीहरूको गुनासो छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ओजश्वीराज थापाले व्यवस्थापनमा केही प्राविधिक कमजोरी भएको स्वीकार गर्नुभयो । उहाँले हाल प्रभावितहरूका लागि खाना, सुत्नका लागि डस्ना, ब्ल्याङ्केट र स्वास्थ्य सेवाको प्रवन्ध भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बाढीले समस्या निम्त्याएको सत्य हो, राज्यले यसको जिम्मेवारी लिनुपर्छ । हामी अहिले तत्कालका लागि आधारभूत आवश्यकता पूर्ति गर्न र दीर्घकालीन व्यवस्थापनका लागि ठाउँ पहिचान गर्न केन्द्रित छौँ ।’
वर्षायाममा सुरक्षित वासस्थानको अभावमा रहेका यी सुकुम्वासी परिवारहरूले तत्काल उचित व्यवस्थापन र क्षतिको क्षतिपूर्ति माग गरेका छन् । सरकारले संवेदनशील भएर समस्या समाधान नगरे स्थिति अझ भयावह हुनसक्ने देखिएको छ । –न्युज एजेन्सी नेपाल