संस्कारको आवरण र ओछ्यानको मौनता

.

श्याम अधिकारी

हाम्रो समाजमा प्रेम, विवाह, परिवार र संस्कारका विषयमा धेरै चर्चा हुन्छ। आदर्श दाम्पत्य जीवनका उदाहरणहरू प्रस्तुत गरिन्छन्, सफल सम्बन्धका कथा सुनाइन्छन् र परिवारलाई समाजको आधारस्तम्भ मानिन्छ। तर, विडम्बना के छ भने यी सबैको केन्द्रमा रहेको एउटा अत्यन्तै महत्वपूर्ण पक्ष – श्रीमान्–श्रीमतीबीचको आत्मीयता, यौन सम्बन्ध र त्यससँग जोडिएका भावनाबारे खुला रूपमा कुरा गर्न आज पनि हामी हिच्किचाउँछौँ। यस्ता विषय उठ्नेबित्तिकै लाज, संकोच, नैतिकताको भाषण वा चरित्रको मूल्याङ्कन सुरु हुन्छ।

यही सामाजिक विरोधाभासका कारण आज पनि धेरै दम्पती एउटै घरमा, एउटै कोठामा र एउटै ओछ्यानमा बसेर पनि भावनात्मक रूपमा निकै टाढा छन्। उनीहरूबीच सम्बन्ध त छ, तर त्यसमा खुलापन छैन। निकटता छ, तर सहजता छैन। सँगै जीवन बिताइरहेका भए पनि मनका कुरा खुलेर भन्न सक्ने वातावरण छैन।

हाम्रो सामाजिक संरचनाले विशेषगरी महिलाहरूलाई सानैदेखि केही निश्चित मान्यताहरू सिकाउँदै हुर्काउँछ। “राम्रो घरकी छोरीले यौनका विषयमा कुरा गर्नुहुँदैन”, “आफ्नो इच्छा देखाउनु लाजमर्दो कुरा हो”, “सेक्समा सक्रिय हुनु राम्रो चरित्रको चिन्ह होइन” जस्ता धारणा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उनीहरूको मनमा गहिरोसँग बसाइन्छ। यी मान्यताहरू यति बलिया हुन्छन् कि विवाहपछि आफ्नै जीवनसाथीको अगाडि पनि धेरै महिलाहरू आफ्नो इच्छा, भावना वा चाहना खुलेर व्यक्त गर्न सक्दैनन्।

उनीहरूको मनमा एउटा अदृश्य डर सधैँ रहन्छ—”यदि मैले आफ्नो इच्छा व्यक्त गरेँ भने मेरो श्रीमान्ले मलाई गलत रूपमा बुझ्लान् कि?”, “यदि म सम्बन्धमा सक्रिय भएँ भने कतै मेरो चरित्रमाथि प्रश्न उठ्ने त होइन?” यस्तो डरले उनीहरूलाई आफ्नै प्राकृतिक भावना दबाएर बाँच्न बाध्य बनाउँछ।

तर यो समस्या केवल महिलासम्म सीमित छैन। पुरुषहरू पनि सामाजिक अपेक्षाको अर्को दबाबमा बाँचेका हुन्छन्। उनीहरूलाई “सधैँ बलियो देखिनुपर्छ”, “कमजोरी देखाउनु हुँदैन”, “यौन जीवनमा सधैँ सक्षम हुनुपर्छ” भन्ने मानसिक बोझ दिइन्छ। त्यसैले धेरै पुरुषहरू पनि आफ्ना असुरक्षा, डर, निराशा वा आवश्यकताबारे खुलेर बोल्न सक्दैनन्। परिणामतः दुवै पक्ष मौन हुन्छन्, तर त्यो मौनताले सम्बन्धलाई विस्तारै कमजोर बनाउँदै लैजान्छ।

जब सम्बन्धमा संवाद हराउँछ, तब शारीरिक निकटताले मात्र सम्बन्धलाई जीवन्त बनाउन सक्दैन। बाहिरबाट सबै सामान्य देखिए पनि भित्रभित्रै भावनात्मक दूरी बढ्न थाल्छ। एउटा व्यक्तिले आफूलाई बुझिएको अनुभव गर्दैन, अर्को व्यक्तिले आफूलाई स्वीकारिएको महसुस गर्दैन। यही दूरीले सम्बन्धमा असन्तुष्टि, निराशा र एक्लोपनको भावना जन्माउँछ।

मानिसको यौन भावना कुनै गलत वा अस्वाभाविक कुरा होइन। यो मानव जीवनको प्राकृतिक पक्ष हो। तर समाजले त्यसलाई अपराधबोधसँग जोडिदिँदा मानिसले आफ्नो वास्तविक भावना लुकाउन थाल्छ। जब वास्तविक सम्बन्धमा खुलापन, विश्वास र स्वीकृति पाइँदैन, तब धेरै मानिसहरू आफ्नै कल्पनाको संसार (फ्यान्टासी) मा हराउन थाल्छन्। कतिपय अवस्थामा उनीहरू भावनात्मक रूपमा सम्बन्धबाहिर आकर्षित हुन सक्छन्, किनभने त्यहाँ आफूलाई जज गरिने डर कम हुन्छ।

यस्तो हुनुको अर्थ सबै मानिस गलत बाटोमा जान्छन् भन्ने होइन। यसको अर्थ केवल यति हो कि दबाइएका भावना कुनै न कुनै रूपमा अभिव्यक्त हुने बाटो खोज्छन्। त्यसैले समस्याको समाधान भावना दबाउनु होइन, सुरक्षित र सम्मानजनक संवादको वातावरण निर्माण गर्नु हो।

बाहिरबाट आदर्श देखिने धेरै परिवारभित्र यस्ता अनगिन्ती नभनिएका कथाहरू लुकेका हुन्छन्। बाल्यकालका अनुभव, यौन शिक्षाको अभाव, सम्बन्धका असुरक्षा, आत्मविश्वासको कमी, एकअर्काप्रतिको गलत बुझाइ, भावनात्मक दूरी तथा विवाहेत्तर आकर्षणजस्ता विषयहरू समाजको डरले कसैले व्यक्त गर्न सक्दैन। हामी यस्ता विषयलाई ‘पाप’, ‘लाज’ वा ‘बन्देज’ को ट्याग लगाएर लुकाउने प्रयास गर्छौँ। तर लुकाउँदैमा समस्या हराउँदैन। बरु त्यसले सम्बन्धभित्रको दूरी अझ बढाइदिन्छ।

स्वस्थ वैवाहिक सम्बन्धको आधार केवल सँगै बस्नु, आर्थिक जिम्मेवारी पूरा गर्नु वा सामाजिक रूपमा पति–पत्नी कहलिनु मात्र होइन। वास्तविक सम्बन्ध त्यतिबेला बलियो बन्छ, जब दुवैले एकअर्कासँग कुनै डर, लाज वा पूर्वाग्रहबिना आफ्ना भावना, चाहना, असन्तुष्टि र अपेक्षा व्यक्त गर्न सक्छन्। जहाँ संवाद हुन्छ, त्यहाँ विश्वास बढ्छ। जहाँ विश्वास हुन्छ, त्यहाँ आत्मीयता गहिरिन्छ। र जहाँ आत्मीयता हुन्छ, त्यहाँ सम्बन्धले दीर्घकालीन स्थायित्व पाउँछ।

यसका लागि यौनका विषयमा स्वस्थ दृष्टिकोण विकास गर्नु आवश्यक छ। यौन शिक्षा अश्लीलता होइन, जानकारी हो। आफ्नो जीवनसाथीसँग इच्छा, आवश्यकता वा असहजताबारे खुलेर कुरा गर्नु चरित्रहीनताको संकेत होइन, परिपक्व सम्बन्धको चिन्ह हो। सम्बन्धमा सम्मान, सहमति, विश्वास र खुला संवाद जति बलियो हुन्छ, सम्बन्ध पनि त्यति नै स्वस्थ र सुखी बन्छ।

हामीले अब संस्कारको नाममा भावनाहरू दबाउने परम्पराबाट बाहिर निस्कन आवश्यक छ। संस्कारको वास्तविक अर्थ मौनता होइन, सम्मान हो। सम्बन्धको वास्तविक सुन्दरता अभिनयमा होइन, इमानदार संवादमा हुन्छ। श्रीमान्–श्रीमतीबीचको आत्मीयता तब मात्र पूर्ण हुन्छ, जब उनीहरूले एकअर्कालाई बिना डर, बिना पूर्वाग्रह र बिना निर्णय गर्ने मानसिकताका साथ स्वीकार गर्न सक्छन्।

सम्बन्धलाई दीर्घकालसम्म जीवन्त, आत्मीय र सुखद बनाउन चाहने हो भने ओछ्यानको मौनतालाई संवादमा बदल्नैपर्छ। किनभने जीवनसाथीसँग आफ्ना भावना, चाहना र आवश्यकताबारे खुलेर कुरा गर्नु कुनै अपराध होइन। बरु यही खुलापन, यही विश्वास र यही संवाद नै सफल, स्वस्थ र सुदृढ वैवाहिक सम्बन्धको सबैभन्दा बलियो जग हो।

(हाल पोर्तुगलमा रहनुभएका अधिकारी पेशाले स्वास्थय कर्मी हुुन्)