सरकारले मन्त्री र नयाँ सांसदहरुको सम्पत्ति छानविन भनेर सम्पती छानविनको काममा पनि राजनीति गर्‍यो: ज्ञानबहादुर शाही

.

प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलको नेता ज्ञानबहादुर शाहीले सम्पत्ति छानविन गर्ने काममा पनि राजनीति गरेको आरोप लगाउनुभएको छ ।
आफ्ना मन्त्री र नयाँ संसदहरुको सम्पती छानविन हुँदैन भन्ने निर्णय गरेर सरकारले यसमा पनि राजनीतिकरण गरेको नेता शाहीको जिकिर थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले गृहमन्त्री सुधन गुरुङको सम्पती छानविन प्रतिवेदन सार्वजनिक नगर्नुको पनि सरकारले गरिरहेको राजनीतिकरणको दृष्टान्तको रुपमा लिन सकिने बताउनु भयो । नेता शाहीले सरकारले नागरिकको हितमा कानून बनाउने पर्नेमा अन्यथा गरिरहेको पनि बताउनु भयो । मान्छेको जीवनभन्दा ठूलो सत्ता नहुनेतर्फ पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।
नेता शाहीले भन्नुभयो,‘सबैको सम्पत्ति छानविन गर्छु भन्ने । तर आफना मन्त्री र नयाँ सांसदहरुको सम्पत्ति छानविन गर्नु हुँदैन भनेर नीति बनाउने कार्यलाई राजनीतिकरण भनिन्छ सभामुख महोदय । अरुको सम्पत्ति छानविन गर्न समिति माग्ने, तर विचौलियासँगको साँठगाँठ बाहिरिएपछि आफै समिति बनाउने, आफै समितिका सदस्यलाई थर्काउने, आफैँलाई निर्दोष देखाउने र समितिका प्रतिवेदन लुकाउने गतिविधिलाई राजनीतिकरण भनिन्छ सम्माननीय सभामुख महोदय । कर्णालीको भिर अडकिएको मानिसलाई उद्धार गर्नु भन्नु राजनीतिकरण होइन । हामी सेवा गरेर राजनीतिमा आएको हौ । देशको भौतिक संरचनामा आगो लगाउँदै सिंहदरबार खरानी बनाउँदै राजनीतिमा आएका होइनौ सभामुख महोदय । बरु भ्रष्टाचारको विरुद्धमा विरोध गर्दा विभिन्न आक्रमण सह्यौ । तर हामीले कसैलाई पनि हानी पु¥याएनौ सभामुख महोदय । त्यसैले फेरी पनि भन्छु–कानून सबैका लागि समान हुनु पर्दछ । राज्य नागरिकको अभिभावक बन्नु पर्दछ । नियम नागरिकको जीवन रक्षाका लागि बन्नु पर्दछ सम्माननीय सभामुख महोदय । जीवन समाप्त पार्नका लागि होइन । मान्छेका जीवनभन्दा ठूलो न सत्ता हुन्छ, न पद हुन्छ, न कानूनको दम्भ हुन्छ, न कसैको लोकप्रियता हुन्छ सभामुख महोदय ।’
नेता शाहीले  नागरिकको अभिभावकको रुपमा काम गर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको राष्ट्रघाती अभिव्यक्तिप्रति आफूहरुको विरोध कायमै रहेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल