कविता- रुख

.

हेर्नुस्

यो रुख अव बुढो भैसक्यो

आफन्तवादको एसिड रेनले यसका पातहरु खुइलि सकेका छन्

हरिया रहेका केहि पातका स्टोमाटा पनि

भ्रष्टाचारको प्रदुषणले बुजिएका छन्

र फोटो सिन्थेसिस हुन छोडेको छ 

 

फोटो सिन्थेसिस ठप्प भएपछि

बिकासको नशा नशामा पुग्नुपर्ने प्रगतिशील ग्लुकोज

कसरि उत्पादन होस ?

प्रश्न गर्न नछोड्नुस्

यो बुढो रुखले गर्दा

कतै राष्ट्रियताको इको सिस्टम नै

असन्तुलनमा त पर्दै छैन ?

 

एक युग बोकेको यो वृद प्रतिगामी रुख

आफै ढल्दैन भने

आउनुहोस् सबै मिलेर ढालौं

र यो देशको नक्शामा एक तरुण रुख रोपौं

ता कि यसले

प्रजातन्त्र र समाजबादको फ्रेस अक्सिजन उत्सर्जन गर्दै

असमानताको बिषाक्त कार्वनडाई अक्साइडलाई अवशोषण गरेर

जलवायु परिवर्तनजस्तै

परिवर्तनशिल भूराजनितिको जोखिमबाट

हाम्रो सार्वभौमसत्तालाई

सुरक्षीत राखिराख्न सकोस ।

 

यो ठुलो रुख हैन एक असल रुख बन्न सकोस।

विजय हितान 

(भदौ २०८०, काठमाडौं )