अस्ट्रियाली जुडो खेलाडीको अभियान : समुन्द्री सतहदेखि सर्वोच्च शिखर सगरमाथासम्म

.

उदयपुर-अष्ट्रियाकी एक महिला जुडो खेलाडीले समुन्द्री सतहदेखि संसारकै सर्वोच्च शिखर सगरमाथासम्म चढ्ने अभियान थालेकी छिन् । ‘महिला पनि पुरुष सरह सबल हुन्छन्’ भन्ने सन्देश दिन अष्ट्रियाकी जब्रिना फिटस्मोजाले संसारको सर्बोच्च शिखर चढ्ने अठोट गरेकी हुन् ।

 

अभियानको क्रममा उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित पत्रकार सम्मेलन यसबारे जानकारी गराइएको हो । ‘फोरएभर एभरेष्ट’ भन्ने नाम दिइएको यो अभियानको पहिलो चरणमा साइक्लिङ हुनेछ । दोश्रो चरणमा प्रख्यात नेपाली आरोही मिङ्मा शेर्पाहरुको सहयोगमा अक्सिजन बिना सगरमाथा चढ्ने योजना उनले बनाएकी छिन् ।

 

अक्सिजन नलैजाँदा सगरमाथामा हुने फोहोरको न्यूनीकरण हुने र विश्व सम्पदाको रुपमा रहेको सगरमाथालाई बचाउन सहयोग पुग्ने उनले बताइन् ।  जब्रिना अष्ट्रियाकी जुडो खेलाडी हुन् ।

 

उनी विश्व जुडो च्याम्पियनशिपको दुई पटक कास्य पदक विजेता हुन् भने युरोपेली च्याम्पियनशिपको स्वर्ण पदक विजेता हुन् । सन् १९८० जुन १२ मा अष्ट्रियाको वेल्समा जन्मिएकी जब्रिनाले नेपालको अब्लादम लगायतका हिमशिखरहरुको सफलतापूर्वक आरोहण गरि सकेकी छिन् । उनले सोलुखुम्बुमा जुडोको प्रशिक्षण गर्न सघाउँदै आएकी छन् ।

 

समुद्री सतहदेखि सगरमाथा सम्मको अभियान भारतको पश्चिम बंगाल राज्यको दीघाबाट सुरु भएको हो र यो अभियान सगरमाथाको चुचुरोमा पुगेर समाप्त हुनेछ । यसले नेपालको पर्यटन क्षेत्रमा सहयोग पुग्न सक्ने विश्वास लिइएको छ ।

 

पहिलो चरणमा भारतमा ५ दिन र नेपालमा ६ दिनको यात्रापछि साइक्लिङ सोलुखुम्बुको खरिखोलामा समाप्त हुनेछ । नेपालको काँकडभिट्टाबाट प्रवेश गरेको जब्रिनाको समूहमा नेपाली प्रख्यात माउन्टेन बाइकर लक्ष्मी मगर र हर्क लामाले साथ दिएका छिन् ।

 

अभियानको टोली काकडभिट्टाबाट प्रवेश गरेर पूर्व पश्चिम लोकमार्ग हुँदै मदन भण्डारी लोकमार्गको चतरा–गाईघाट हुँदै गाईघाट आइपुगेका हुन् । गाईघाटमा बसेका उनीहरुले मदन भण्डारी लोकमार्गको गाईघाट –कटारी–घुर्मीको बाटोबाट ओखलढुंगादेखि सोलुखुम्बुको खरिखोलासम्म साइक्लिङ गर्दै जाने योजना रहेको बताएका छन् ।

 

साइक्लिङको सबै भन्दा लामो रुट उदयपुरमा पर्दछ । ‘फोरएभर एभरेष्ट’मा साथ दिन उदयपुर साइक्लिङ संघमा आबद्ध ५० जना भन्दा बढी साइकल राइडरको समूहले साथ दिने जिल्ला साईक्लिन संघ उदयपुरका अध्यक्ष जितु कोइरालाले जानकारी दिए । दीघाबाट आएको उनीहरुको टोलीलाई गाईघाटमा साईक्लिङ्ग संघले स्वागत गरेको थियो ।

न्युज कारखाना