माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो

.

काठमाडौंको माईतीघर मण्डलामा दृष्टिबिहीनहरूले शुरु गरेको आन्दोलन छैटौं दिनमा पनि जारी रहेको छ ।
आफ्ना मागहरूप्रति सरकारको ध्यानाकर्षण गराउन ६ दिनदेखि धर्नामा बसेका प्रदर्शनकारीहरूले राज्यको मौनताप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । धर्नामा सहभागी दृष्टिबिहीन सूर्य लिम्बूले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन र आन्तरिक व्यस्तताका कारण सरकारले आफूहरूको आवाज नसुनेको हुनसक्ने टिप्पणी गर्नुभयो । अबका दिनमा भने सरकारले आफूहरूको माग सम्बोधन गर्नेमा आशावादी रहेको बताउनु भयो । लिम्बूले सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिहरूले माईतीघरमा भइरहेको प्रदर्शनलाई बेवास्ता गरेको आरोप समेत लगाउनु भयो । उहाँले वाह्य जिल्लाका सामान्य गतिविधिमा चासो राख्नेहरूले राजधानीको मुटुमा भइरहेको न्यायोचित आन्दोलनलाई नजरअन्दाज गरेको गुनासो गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद (दृष्टिबिहिन) रमेश प्रसाईंले बाहिरी जिल्लामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले एक हातले बाइक चलाएको देख्ने तर काठमाडौंमा आफूजस्तै दृष्टिबिहीनहरुले गरिरहेको प्रदर्शन नदेखेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आज हामीले यो आन्दोलनलाई छैटौं दिनसम्म ल्याई पु¥यायौं । सरकारले अब आजबाट सुन्छ कि भन्ने आशा गर्नसक्छौं हामीले । किनभने रास्वपाको महाधिवेशनमा व्यस्त हुनुहुन्थ्यो होला उहाँहरू । हाम्रो समाचार हेरेर पनि उहाँहरूले केही भन्नुहुन्छ कि भनेर हामी एकदम कान हाम्रा ठाडा ठाडा छन् । रमेश प्रसाईं चाहिँ हेर्छन्, हामी प्रतिक्षा गर्दैछौं, कहिले हाम्रो कानमा यो समाचार गुञ्जिन्छ भनेर । उहाँसँग हामीले खासै केही आशा गरेका छैनौं किनभने उहाँ उदयपुरमा हर्क साम्पाङले एक हातले मोटरसाइकल चलाएको देख्नुहुन्छ, माईतीघर मण्डलामा हाम्रो धर्ना देख्नुहुन्न भनेपछि के आशा गर्ने होला तपाईं आफैं कल्पना गर्नुहोस् ।’
प्रदर्शनरत दृष्टिबिहीनहरूले सरकारले चाँडै वार्ताको वातावरण सिर्जना गरी आफ्ना मागहरू पूरा गर्ने समाचार सुन्न प्रतिक्षारत रहेको बताएका छन् । ६ दिनदेखि सडकमा रहेका उनीहरूले माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने चेतावनी दिएका छन् ।–न्युज एजेन्सी नेपाल